साझा कथा । पछिल्लो समय हराउँदै गएको वर्षभरी काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथाको परिचित बालीघरे प्रथा अझै पनि केही जिल्लामा कायमै छ । भोजपुर यस्तै जिल्ला हो, जहाँका गाउँघरमा बालीघरे प्रथा कायमै छ । प्रथा कायम मात्रै छैन, सो चलन अुनसार काम गर्दै आएका व्यक्तिले श्रमअनुसारको ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् । यस प्रथामा काम गर्दा श्रमको उचित मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनीहरूको भनाइ छ । बालीघरे प्रथामा काम गर्दा धेरै दलित समुदायका व्यक्ति ठगिँदै आएका छन् ।
गरिबीको कारण दलित समुदायका व्यक्ति बालीघरे प्रथामा काम गर्न बाध्य भएका हुन् । भोजपुरका ४० प्रतिशत बढी दलित बालीघरे प्रथामा काम गर्न बाध्य रहेको नगरस्तरीय दलित सञ्जाल समितिका अध्यक्ष दुर्गा रणपंहेलीले बताए । जिल्लाभरि नै यो प्रथाको अन्त्यका लागि अभियानमार्फत सचेतनाका कार्यक्रम चलाए पनि उनीहरूमा बालीघरेमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
“हाम्रो जिल्लामा अझै पनि बालीघरे प्रथा छ”, अध्यक्ष रणपंहेलीले भने, “यसरी काम गर्ने दलित ठगिएको अवस्था छ । उनीहरूले श्रमअनुसारको ज्याला पाउँदैनन् । दश पाथी अन्न, चाडबाडमा एक–दुई माना चामल पाएको भरमा वर्षभरि काम गरिरहेका छन् । यसरी काम नगरभन्दा मान्ने अवस्था छैन ।” उनीहरूलाई राज्यले विकल्प नदिएसम्म यो प्रथा अन्त्य नहुने दलित अगुवाहरुको भनाइ छ ।
यसमा आवद्धलाई अन्न लिनुको साटो पैसा लिएर काम गर्नुभन्दा समेत नमान्ने अवस्था छ । “सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि बालीघरे प्रथा हट्न सकेको छैन”, रणपंहेलीले भने । सामाजिक सुधारका लागि राज्यले अझ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
सहरी तथा शिक्षित समाजमा यस खालको प्रथाको अन्त्य भए पनि भोजपुरका ग्रामीण क्षेत्रमा अझै यो चलन व्याप्त छ । युवापुस्ताले यस्ता खालको काम नगरे पनि पुरानो पुस्तामा अहिले पनि यसरी काम गर्ने चलन छ ।