बाझाबाझ गर्दै सत्ता पक्षकै सांसद – “यो राम्रो संकेत होइन”

साझा कथा । विभिन्न रंगका पार्टीहरुको समीकरणबाट बनेको सरकारभित्र चलिरहेको रस्साकस्सी र मतभिन्नता संसदमा पनि पोखिएको छ । सत्तापक्षकै सांसदहरुले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एकअर्काप्रति रोष प्रकट गरेका छन् भने एकले अर्कालाई चूनौति पनि दिए ।

खासगरी संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे राप्रपाबाट सरकारमा गएका मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको हो । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर रोष प्रकट गरे भने राप्रपाका सांसदले त्यसको प्रतिवाद गरे ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरी टिप्पणी गरे स्विकार्य नहुने चेतावनी दिए । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराए । सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने उनको धारणा थियो ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताए । कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै उनले भने, ‘आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो होइन ।’

धर्मको नाममा राजनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको उदाहरण दिँदै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए । “दलले आफ्ना कुरा भन्न सक्छ, सांसदहरुले भन्न सक्छन्, तर मन्त्री भएर यसरी संविधानको बर्खिलापमा बोल्नु संविधान विपरीत हो,” पन्तको भनाई थियो ।

सत्तारुढ दल राप्रपाका सांसद धवलशम्शेर जबराले भने त्यसको प्रतिवाद गरे । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै उनले भने, ‘यो संविधानले रोक्दैन । हामीले बोल्न पाउनुपर्छ, बोल्छौं ।’ उनले आफूलाई नहेप्न चूनौति पनि दिए । यसको अर्थ आफूहरुले संविधान र व्यवस्थालाई नमान्ने नभएको उनको प्रष्टोक्ति थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?