प्रेमको आत्मदाह र लज्जित राज्य

साझा कथा । निर्वाचनदेखि निर्वाचनसम्मको तयारी गर्ने राजनैतिक दल र उनीहरुका नेतृत्वको कारण देश विकराल समस्यामा फस्दै गएको छ । २०४६ को राजनैतिक परिवर्तनपछि मुलुकले अपेक्षित सामाजिक, आर्थिक परिवर्तनको गोरेटो समात्न नसक्दा कालो बादल मडारियो । २०६३ को ठूलो परिवर्तनपछि आशाको नयाँ संचार जागृत भएपनि पुरानै रोग बल्झियो । फेरि पनि राजनैतिक पार्टीहरुमा एउटा चुनावदेखि अर्को चुनावसम्मको तयारीमा जुट्ने टे«न्ड मौलाउँदा चरम निराशाको बादल घुमिरहेको छ ।

अधिकाँश आर्थिक सूचकांकहरु नकारात्मक देखिएको मुलुकमा सामाजिक, मनोवैज्ञानिक सूचकांकहरु पनि सन्तोषजनक छैनन् । कलिलो उमेरमै वैदेशिक रोजगारीमा जानेहरुको संख्या वृद्धि भइरहेको छ भने देशभित्र रहेका युवाहरुमा पनि चरम निराशा छाएको छ । कर्णालीमा भूकम्प गएर त्राहीमाम भएकै दिन इलामका युवा प्रेम आचार्यले काठमाडौंमा आत्मदाहको प्रयास गरे र भोलीपल्टै उनको दुःखद निधन भयो । आत्मदाहको प्रकरणले थुप्रै विस्मयकारी प्रश्नहरु जन्माएको छ ।

सुन्दर गन्तव्यका लागि रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेका प्रेमले ३६ बर्ष पार गर्दै गर्दा हात हालेका कुनै पनि काममा उपलब्धी हासिल गर्न नसकेको दुखेसो गर्दैै आत्मदाह गरे । उद्यमशीलतामा लाग्न अरुलाई प्रेरित गर्ने र आफू पनि साना उद्योग नै सही अरुको लागि समेत काम गर्ने हेतुले व्यवसायमा हात हालेका प्रेमले भनेका छन्, बरु जग्गामा लगानी गरेको भए ५ डबल हुने रहेछ, मैले उद्यमशीलताको बाटो रोज्नु दुर्भाग्य भयो ।

प्रेमले आत्मदाहको निर्णय गर्नुमा वर्तमान हाम्रो राज्य प्रणाली, नेपालमा प्राप्त हुने अवसर र ती कामबाट प्राप्त हुने सफलतासँगै सरकारको सहयोग कस्तो ठाउँमा हुन्छ भन्ने विषयमा समेत सपाट चित्र उतारिदिएका छन् । उनले भनेका छन्, राज्यको अनुदान लिनलाई कि जनप्रतिनिधि, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ । कर्मनिण्ठ भएर नहुने रहेछ । यो वाक्यले नेपालको विकास नमुनाको कुरुप चित्र उदांगो पार्छ ।

नेपालमा व्यवसाय वा उद्योग सञ्चालन गर्दा एकजना व्यक्तिले विचौलिया, ठूला व्यापारीबाट हुने व्यवहार र राज्यको प्रणालीले दिने सेवा सुविधाका विषयमा प्रष्ट व्याख्या गरेका प्रेमले वर्तमान कर प्रणालीले दिएका दुःख ओकलेका छन् । यति मात्रै होइन, बहुर्राष्ट्रिय कम्पनीबाटै आफूजस्तो सानो व्यवसायीसँग घुस मागिएको घटना सार्वजनिक समेत गरेका प्रेमले साना किसानहरु विचौलियाबाट कसरी ठगिएका छन् र विमा कम्पनीहरुले कसरी दुःख दिएका छन् भन्ने विषय पनि उजागर गरेका छन् । आत्मदाह अघि प्रेमले सरकारलाई दिएका २५ बुँदे सुझाव र ११ बुँदे माग नाजायज छैनन्, राज्यले गम्भीरतापूर्वक लिनुपर्ने र नेतृत्वले सुझबुझ ढंगले लागु पर्ने विषयहरु छन् ।

आफ्नो आँसु रित्याएर, आशा रित्याएर, सम्बन्ध रित्याएर, उनकै शब्दमा मलामी रित्याएर प्रेम आचार्यले देशको प्रतिनिधि सभाको नाकै अगाडि आत्मदाह गरेको विषय सामान्य विषय हुँदै होइन । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता आयो । संविधान सभा मार्फत नयाँ संविधान जारी पनि भयो तर प्रेम जस्ता देशभित्रै केही गर्छु भन्ने युवाहरुलाई सास्ती बाहेक केहि मिलेन । एकजना नागरिकले आत्मनिर्भर बन्ने बाटो खोज्दा भौँतारिनुपर्ने, राज्यका निकायले असिनपसिन बनाइदिने, सानो कामको लागि भनसुन गर्नुपर्ने, हरेक निकायमा लाइन नलागी काम सम्पन्न नहुने, राज्यलाई कर बुझाइरहने तर सुविधामा सधैँ व्यथिति र गञ्जागोल स्थितिको सामना गरिरहनुपर्ने यो नियति कहिले सुध्रिएला ?

जति मेहनत गर्दा पनि यो देशमा सफलता पाउन नसकेको सुसाइड नोट र आत्मवृत्तान्त सुनाएका प्रेम आचार्यले मृत्युको बाटो रोज्दा पक्कै पनि धेरैको आँखा रसाएको छ । आँखा मात्रै रसाएको छैन, एकजना नागरिकलाई गरि खान नदिने राज्य प्रणाली र हाम्रा संरचनाहरुप्रति आगो पनि ओकलिएको छ । यो घटनाले राज्य लज्जित भएको छ । स्वाभिमानी नेपालीको शीर झुकेको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?