३ जनाको ज्यान लिने चर्चित पुल – ९ बर्षमा बल्लतल्ल सम्पन्न हुँदै

साझा कथा । सरकारले निर्माण व्यवसायीहरुमाथी कडाइ नगर्दा निर्माणाधीन विकासका आयोजनाहरु लामो समयसम्म अलपत्र पर्ने गरेका छन् । मुलुकमा निर्माण हुने सडक, पुल वा अन्य भौतिक पूर्वाधार निर्धारित समयमा सम्पन्न हुने सम्भावना विरलै हुन्छ । यस्तै नियति भोगेको छ, चितवनको ठिमुराबाट तनहुँको पवित्र धार्मिकस्थल देवघाट जोड्ने पक्की पुलले । सो पुल निर्माण सुरु गरेको नवौँ वर्ष मात्र सम्पन्न हुने छाँटकाँट देखिएको छ । यद्यपी सम्पन्न भने भइसकेको छैन । निर्माण गर्दै गर्दा दुई पटकसम्म स्ल्याप लडेर चर्चामा आएको सो पुलको अन्तिम ढलानको काम अहिले भइरहेको छ । कंक्रिट स्ल्याब निर्माण पूरा भएको छ भने फलामे ट्रस्टको भाग निर्माणको तयारीमा रहेको छ।

नदीको बीच भागमा गहिरो भएकाले सिमेन्टेड स्ल्याप बनाउन कठिन भएपछि फलामे ट्रस्टबाट निर्माण गर्न आर्क आकार बनाउने काम अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की क्षेत्रीले जानकारी दिए ।

आर्क निर्माण सकिएपछि फलामे ट्रस्ट राख्ने काम गरिने र यो काम सकिएपछि पुलको माथिल्लो भागको काम सकिने बताइएको छ । चितवनबाट देवघाट जाने छोटो मार्गका लागि पुल निर्माण गर्न २०७१ कात्तिक २० गते इलाइट एड्भेन्चर इन्द्रेणी जेभी भरतपुरले ठेक्का पाएको थियो।

समयमा काम नभएपछि म्याद थप्दै गर्दै जाँदा निर्माण भएको दुईवटा स्ल्याप २०७७ चैत २४ गते भत्किएको थियो। गत वर्ष वैशाख १२ गते पुनः अर्को स्ल्याब भत्कियो। दोस्रो पटक स्ल्याब भत्कँदा तीन जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए। ‘‘पहिलो पटक राति भत्केकाले मानवीय क्षति भएन तर दोस्रो पटक दिउँसो काम गर्दै गर्दा भत्कँदा पुलले नदीमा च्यापिँदा मजदुरको मृत्यु भएको थियो ।

पुल निर्माणको क्रममा दुर्घटना भएपछि पाँचौँ पटक म्याद थप गरेर २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने समय पु(याइएको छ। संशोधित सम्झौताअनुसार २१ करोड ७८ लाख ८४ हजार रुपियाँ लागतमा निर्माण हुने पुलको लम्बाइ दुई सय मिटर रहेको छ ।

धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटधाम जाने पुल मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गामा निर्माण भएर दस वर्षअगाडिबाट सञ्चालनमा आएको छ। यो पुल पायक नपरेको भन्दै छोटो बाटोका लागि रामनगरबाट ठिमुरा हुँदै देवघाट जाने पुल निर्माण सुरु भएको हो।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?