साझा कथा । नागरिकता प्रकरणमा सर्वोच्चको आदेशले गृहमन्त्रीबाट पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लामो समयको मौनतापछि मुख खोलेका छन् । रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । तर उनले गत आइतबार नै पुनः नागरिकता लिने प्रक्रिया पूरा गरिसकेका छन् । तर उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको भन्दै केही व्यक्तिले उनी विरुद्ध उजुरी गरिसकेका छन् । उनको पासपोर्ट मुद्दा निक्कै महंगो पर्ने देखिन्छ । दुईवटा देशको पासपोर्ट एकैपटक राख्नु कानूनी रुपमा अपराध हो ।
किन भने रविले, अभिमन्यू होइन ?
रविले आफू महाभारतका पात्र अभिमन्यू नभएको बताउँदै गर्दा उनले किन त्यसो भने भन्ने जिज्ञासा उत्पन्न भएको छ । अभिमन्यु महाभारतका कुशल पात्र अर्जुनका पुत्र थिए । उनी एक असाधारण योद्धा थिए भनिन्छ । अभिमन्युले कौरव पक्षले रचना गरेको चक्रव्यूहको भेदन गरेका थिए । कथा अनुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर सुभद्रा बीचमै निदाएकोले उनी व्यूह भन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । अभिमन्युको मृत्युको कारण जयद्रथ थियो जसले अन्य पाण्डवहरूलाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो । संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्षका सबै महारथीहरु युद्धको मापदण्डहरू तोड्दै बालक अभिमन्यूमाथि बर्सिए र उनले वीरगति प्राप्त गरे । अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए।
रवि लामिछानेले आफूलाई पनि चक्रव्युहमा पारिएको सन्देश दिएका छन् । तर उक्त चक्रव्यूह तोडेर बाहिर निस्कने तर आत्मसमर्पण नगर्ने सन्देश दिनका लागि उनले आफूलाई अभिमन्यूसँग तुलना गरेका हुन सक्छन् । चक्रव्युहका गोप्य कुरा खोलिदिन सक्ने उनको चेतावनी पनि हुन सक्छ ।