नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।
बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडान सम्बन्धि नयाँ व्यवस्था लागू गर्न लागेको जानकारी दिएका हुन् । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३÷३ वा ६÷६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको बताए । २७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको बताउँदै भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि जानकारी गराए ।
उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको नीति निमय र कानून मान्छौं । तर हवाई उडानमा मुख्य नीति राष्ट्रिय नीतिहरु होइनन् । हवाई उडानमा अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदपण्ड र नियममा मुख्य भएकाले सिकागो सम्मेलनको मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि परिर्माजन गर्ने गर्छौं ।”
प्राधिकरणले हवाई उडानलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? नेपालको विमानस्थलमा हुने ल्याण्डिङ पश्चात असुरक्षित हो की ? भन्ने बाहिर मानिसहरुलाई परेकाले प्राधिकरण हवाई उडानलाई सुरक्षित बनाउने विषयमा छलफल गरिरहेको उनको भनाई छ ।
प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन् । हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको छ। आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने भुलले बताए । पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने भुलले बताए ।
चालक दलका सदस्यको थकानको जोखिम न्युनिकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागिएको बताउँदै उनले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।