अर्घाखाँचीको कथा – खेतबारी बाँझै, बसाइ सर्नेको ताँती

खेतबारी बाँझै, युवाजति शहर वा विदेश, १० बर्षमा २५ हजारले जनसंख्या घट्यो

तत्कालीन सबै गाविसहरुमा मोटरबाटो पुग्ने जिल्लाको रुपमा परिचित अर्घाखाँची लुम्बिनी प्रदेशको पहाडी जिल्ला हो, जहाँ विकास अन्य जिल्लाको तुलनामा सन्तोषजनक नै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै वडामा मोटरबाटो पुग्नाका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ ।

सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय छन् तर मानिसहरु भने धमाधम बसाइँ सरिरहेका छन् । गाउँका अधिकांश घर खाली रहेका र मानिस भएका घरमा पनि १६ देखि ५० वर्षसम्मका मानिस भने फाटफुट मात्र भेटिन्छन् । कोहीले बसाइँसराइको कागजपत्र बनाएर बसाइँ सरेका छन् भने कोही भने नबनाइकनै ।

विसं २०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घरपरिवार बसाइँ सरे । विसं २०७८ मा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे । विसं२०७९ वैशाखदेखि मङ्सिर मसान्तसम्म एक हजार छ सय दुई घरधुरीले बसाइँ सरिसके । बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिका बनेको छ । उक्त गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत ३२ महिनामा यस गाउँपालिकाबाट एक हजार एक सय २४ घरपरिवार बसाइँ सरेका थिए । सोही अवधिमा अन्य ठाउँबाट एक सय ९० परिवार मालारानीमा बसाइँ आएका थिए ।

अन्य पालिकाको तुलनामा सन्धिखर्क नगरपालिकाबाट बसाइँसराइ गर्नेको सङ्या सबैभन्दा थोरै छ । त्यहाँबाट विगत ३२ महिनामा तीन सय ३० घरपरिवार बसाइँसराइ गरेर गएको नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी शालिकराम नेपालीले जानकारी दिए । सो अवधिमा एक सय ७८ घरपरिवार अन्यत्रबाट बसाइँ आएका थिए ।

विगत ३२ महिनामा शीतगङ्गा नगरपालिकाबाट आठ सय ९७ घरपरिवार बाहिरिएका र दुई सय १५ घरपरिवार भित्रिएका नगरपालिकाका पञ्जीकरण शाखाका धर्म बन्जाडेले बताए । भूमिकास्थान नगरपालिकाबाट तीन सय ४१ घरपरिवारका एक हजार तीन सय ७७ व्यक्ति बसाइँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले जानकारी दिए । यस्तै अन्य गाउँपालिकाबाट बसाइसराइ गर्नेको पनि ताँती लागेको छ ।

राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाकोे कूल जनसङ्ख्या एक लाख ९७ हजार छ सय ३२ रहेकामा पुरुष ८६ हजार दुई सय ६६ र महिला एक लाख ११ हजार तीन सय ६६ थिए । विसं २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या घटेर एक लाख ७२ हजार पुगेको थियो । १० बर्षमा उल्टो २५ हजारले अर्घाखाँचीको जनसंख्या घट्यो ।

स्थानीय, प्रदेश तथा सङ्घका सबै निर्वाचनमा राजनीतिक दलहरुले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाहरुको थियो। निर्वाचनमा युवालाई गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिए पनि युवाहरु अहिले रोजगारीका लागि सहरबजार तथा विदेशमा जान बाध्य छन् ।

अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीका लागि सदरमुकाम वा अन्य जिल्लामा बसाइसराइ गरिरहेका छन् । जिल्लाका छवटै पालिकामा बसाइँसराइ कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेबालीलगायतलाई प्राथमिकता दिनुपर्ने, विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिनुपर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरिनुपर्ने विकासका पूर्वाधार दिगो विकासको नीतिअनुरूप अघि बढाउनुपर्ने प्रस्ताव अघि बढाइएको थियो । तर त्यति प्रभावकारी भने भएको छैन । बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ गर्ने बढेका र बढ्दो सहरीकरण, सेवासुविधा उपलब्ध, सुरक्षालगायत कारणले आन्तरिक बसाइँसराइको मात्र बढ्दै गएको हो ।

अर्घाखाँची विप्रेषण आउने जिल्लामध्ये अग्रपङ्क्तिमा रहेपनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा अन्यत्र श्रम बेच्ने मानिस उत्पादन गर्ने थलो बनेको स्थानीयवासीको गुनसो छ ।

अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा तथा युवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत मुलुकमा छन् । गाउँका अधिकांश बारी तथा खेत बाँझै छन् । सबै घरमा वृद्धवृद्धा मात्र छन् । अधिकांश श्रीमान्हरु रोजगारीका लागि विदेश र श्रीमतीहरु छोराछोरी पढाउन भनेर सहर झरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?