साझा कथा । नेपाली काँग्रेसका नेता तथा पार्टी सभापति शेर बहादुर देउवा पत्नी आरजु राणाका विश्वासपात्र उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने माग गरेका छन् । निर्वाचनको सामान्य सिद्दान्त समेत ख्याल नगरी श्रेष्ठले निर्वाचन आयोगमा आफूलाई विजयी गराउन दाबी गरेका छन् । उनको यो मागलाई धेरैले केटाकेटी माग भनेका छन् ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ । तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार रहेका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए । लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग उनको छ ।
निर्वाचनमा पहिलो हुने व्यक्तिको पद खारेज भए वा मृत्यु भएर पद रिक्त रहे दोस्रो व्यक्तिलाई विजयी बनाउने काम नेपालको इतिहासमा कहिल्यै भएको छैन । चुनावमा दोस्रो भएकालाई पछि निर्वाचित घोषणा गर्ने कानुन छैन । त्यस्तो अवस्थामा उप-निर्वाचन हुँदै आएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानूनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको जानकारी दिए । उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको उनले स्पष्ट पारे ।
उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र उपर दाबी बिरोध गर्ने, मनोनयन पत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ, निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्ने त्यसको निरुपण गर्ने भनेको संवैधानिक इजलासले गरेको हुन्छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो । ६ महिना भन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्ने छ । यस बाहेक कानूनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन ।’
सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने प्रष्ट पारे ।
स्वास्थ्य राज्य मन्त्री समेत भइसकेका श्रेष्ठ देउवा पत्नी आरजुका व्यवसायिक साझेदार भनेर आलोचित हुने गरेका छन् । यो मागपछि उनी झन् आलोचनाको शिकार हुने निश्चित छ ।