साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशका प्रमुख दुश्मन नेपाली मूलधारका मिडियाका सम्पादकहरु रहेको आरोप लगाएका छन् । सरकारबाट बाहिरिने निर्णय गरेसँगै आयोजित पत्रकार सम्मेलन गर्दै लामिछानेले गलत रिपोर्टहरु पेश गर्दै नेपाली मिडियाका मालिक र सम्पादकहरुले देशको राजनीति घुमाइरहेको दाबी गरे ।
आफू गृहमन्त्री हुँदा केही मिडियाहरुले सम्पादक र मालिकहरुको कुकर्म पर्दाफास हुने डरले आफूमाथी श्रृंखलावद्ध आक्रमण गरेको लामिछानेको जिकिर छ । कुनै समय राणाको वेथिति रहेको, कुनै समय पञ्चायतको वेथिति रहेको र कुनै समय राजाको वेथिति रहेको भन्दै लामिछानेले अहिले नेपालमा मिडियाको वेथिति रहेको बताए । देशको राजनीति विटुलिने र देशका तमाम समस्याहरु मिडियाले गिजोलेको आरोप लगाउँदै लामिछानेले केही मिडियाको नाम लिँदै उनीहरुले गरेका केही कामको पर्दाफास समेत गरे ।
उनले भने, “देशी-विदेशी शक्तिले हामीलाई प्रभावित पारे भन्छन् । तर, यो देशका दुश्मन विदेशी शक्ति होइनन्, यहाँ सिन्डिकेट कायम गर्ने मिडिया हुन् । जसले भर्खर उभर्दै गरेको, जनताको आशा र भरोसा लिएर आएको दललाई निरन्तर खेदिरहन्छ । रविजी चार महिनाको बीचमा २०-२० जना नयाँ अनुहारका साथीहरु बोकेर तपाईंको चुनावी अभियान कसरी सफल भयो भनेर कसैले सोधेको छ ? सफलताको कथा बनाएर कसैले लेखेको छ ?”