साझा कथा । मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् । उनीहरुले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको औंल्याएका छन् । अर्थविद्हरुले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्युनतम कार्यक्रम प्रभावकारी कार्यान्यनकोे लागि भएपनि पूरक बजेट आवश्यक रहेको बताए ।
उनीहरुले अहिलेको बजेटमा सरकारका साझा न्युनतम कार्यक्रम समावेश नभएको भन्र्दै साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट आवश्यक रहेको बताए । उनीहरुले सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षामार्फत आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए । उनीहरुले सरकारले पूरक बजेट ल्याएर पुँजीगत खर्च बढाएर तिब्ररुपमा काम गर्नसके आर्थिक वृद्धिको लक्ष्य भेट्टाउनसक्ने बताए ।
अर्थविद् डा.डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य समेट भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको उनको भनाई थियो ।
“अहिले पूरक बजेटको आवश्यकता हो । किनकी बजेटले लक्ष्य लिएको राजश्व संकलन नपुग्ने भयो । २ खर्ब बढीले राजश्व नभेटिन नसक्ने आकलन आएको छ । खर्च कटौती गर्न पनि पूरक बजेट आवश्यक छ । वर्तमान सरकारले कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति र विकृति,भ्रष्टाचार हाबी छ त्यसलाई ब्रेक थु्र गर्नेगरी सुशासनको परिपाटिलाई चुस्तदुरुस्त गर्नेगरी जानुपर्छ । अन्यथा सरकारले परिणाम ल्याउन सक्दै,” खनालको भनाई छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए । नेपालले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताउँदै उनले वर्तमान सरकारले जसरी भएपनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याउन आवश्यक रहेको प्रष्ट पारे ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताए । वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको उनको जोड थियो । पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिएपनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताए ।