साझा कथा । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृत भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मोन्टी देशाईलाई औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक घोषणा गरेको छ । क्यानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर भारतीय मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।
तर यसअघि मोन्टी देशाई नेपाल आएर माघ १५ गतेबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । सार्वजनिक गरिएको कार्यक्रममा क्यानले देशाईसँग दुई वर्षे सम्झौता गरेको क्यानले जानकारी दियो । यससँगै एक दिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट सम्हाल्ने देशाई छैटौँ प्रशिक्षक भएका छन् ।
एक दिवसीय मान्यता पछि नेपाली टोलीलाई यसअघि जगत टमाटा, उमेश पटुवाल, डेभ ह्वाटमेयर, पुबुदु दाशानायके र मनोज प्रभाकरले प्रशिक्षित गरेका थिए । सोमवार आयोजित औपचारिक प्रशिक्षक घोषणा कार्यक्रममा मुख्य प्रशिक्षक मोन्टी देशाईले आफ्नो पहिलो लक्ष्य ड्रेसिङ रुमलाई खुशी बनाउँदै एक ढिक्काको क्रिकेट टोली बनाउने योजना रहेको सुनाए ।
नियुक्तीको पहिलो एक साता नेपाली टोलीसँग बिताएका देशाईले खेलाडीमा राम्रो क्षमता भएको र उनीहरुको क्षमता योजना अनुसार कार्यन्वयन हुँदा राम्रो नतिजा निस्किने औंल्याए । नेपाली क्रिकेटले एक दिवसीय मायन्यता प्राप्त गर्दा आपूm प्रत्यक्षदर्शी रहेको र अहिले खेलाडीमा पनि राम्रो नतिजा निकाल्ने सम्भावना रहेको भन्दै नेपाली क्रिकेटले आगामी दिनमा सुखद् नतिजा दिलाउने उनको विश्वास छ ।
मुख्य प्रशिक्षक नियुक्त भएका देशाई सन् २०१८ मा अफगानिस्तान र सन् २०१९ को अक्टोबरमा युनाइटेड अरब इमिरेट्स (युएई) को ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
२०१९ मै उनले विश्वकप क्रिकेट लिग–२ का लागि क्यानडाको मुख्य प्रशिक्षण सम्हालेका थिए । सोही वर्ष उनी दुई वर्षको सम्झौतासहित वेस्ट इन्जिड क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए । सन् २०१७ मा नेपाली यु–१९ टोलीले यु–१९ एशिया कपमा भारतलाई हराउँदा देशाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देशाई नेपाली टिमसँग आवद्ध थिए ।
तत्कालिन मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक बिहीन रहेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेपनि सम्झौता सकिनुअघि नै प्रभाकरले पद छोडेका थिए । उनको प्रशिक्षणमा नेपाली टोली आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–दुई अन्तर्गत नामिबिया भ्रमण गर्दा अपेक्षा अनुसारको प्रदर्शन गरेको थिएन । त्यसपछि रिक्त पदमा क्यानले देशाईलाई नियुक्त गरेको हो । नेपालले फागुन २ गतेबाट घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दैछ ।