चितवनमा चल्दै कृषि एम्बुलेन्स !

साझा कथा । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट समेत विनियोजन गरेको छ ।

पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए । उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । “किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ”, उनले भने । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्याउनुपर्ने बाध्यता छ ।

अध्यक्ष गुरुङका अनुसार सङ्घीय सरकारले रु ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधाआधा रकमको व्यवस्थापन हुनेछ । “सङ्घीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो”, उनले भने ।

इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ । यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुङ्गोलगायतका तरकारी उत्पादन हुने गरेको छ । गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?