माघपछि पनि हुस्सु र स्याँठ

साझा कथा । यस बर्ष माघ महिना सकिनै लाग्दा समेत तराईमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठका कारण आम मानिसहरुको दैनिक जनजीवन प्रभावित बनेको छ । गत वर्षको अनुभव फकेर हेर्ने हो भने यो समयमा घाम तात्दै काम गर्ने मौसम अनुकूल भइसक्थ्यो ।

महोत्तरीको बर्दिबास–७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेल भन्छिन् , “आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ ।” शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन् ।

माघ दोस्रो सातायता पारिलो घाम लाग्न थालेर आकाश खुलेपछि अब जिउ तात्छ भन्ने आश पालेका आपूmहरूलाई माघ तेस्रो साता लागेयता फेरि हुस्सु लाग्न थालेर चिसो स्याँठले सताउन थालेको सो बस्तीकै ८५ वर्षीय हाजी बिहारी अन्सारी भन्छन् । “खै वसन्तपञ्चमी मनाइएपछि त हुस्सु फाट्दै गएर आकाश सफा र उज्यालो हुन्थ्यो, अहिले त फेरि पुसको स्याँठ र हुस्सु पो दोहोरियो”, उनले भने, “खै बाबु, के–के देख्न, भोग्नुपरेको छ को नि”

माघको तेस्रो सातायता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले महोत्तरीका गरिब बस्तीका सर्वसाधारणको फेरि बिचल्ली बढेको छ । एक साता पारिलो घाम देख्न, ताप्न पाएका यहाँका सर्वसाधारण माघ तेस्रो सातापछि फेरि बाक्लो हुस्सुले ढाकेर लगातार चिसो स्याँठ बहन थालेपछि बिचल्लीमा परेका हुन् । महोत्तरीका सबैजसो भेगमा अहिले बाक्लो तुवाँलोले डम्म ढाकेर घाम नदेखिएको एक साता भइसकेको छ । जिल्लाको उत्तरीक्षेत्रमा मध्यान्हतिर मधुरो घाम देखिए पनि मध्य र दक्षिणी भेगमा दिउँसो कुनै बेला अक्कलझुक्कलमात्र घाम देखिन्छ ।

जिल्लाका गाउँनगर बस्तीमा अचाक्ली चिसो बढेको र यसले जनजीवनमा प्रतिकूल असर पार्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले गरिब बस्तीमा न्यानो सिरक बाँड्ने अभियान नै चलाएको छ । “हामीले जिल्लाका आमरूपमा अतिविपन्न मुसहर, बाँतर, चमार र खत्वेलगायतका जाति समुदायका बस्ती, असहाय वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई जाडो छल्न न्यानो फाइबर सिरक बाँडेका छौँ”, जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दीपक पहाडीले भने, “परोपकारी क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्था र स्थानीय तहको सिफारिसमा यो अभियानलाई अझै निरन्तरता दिइँदैछ ।”

बढ्दो जाडोबीच न्यानो फाइबरको सिरक पाइएपछि पालो मिलाएरै भए पनि जिउ तताउन पाइएको भन्दै यहाँका दलित बस्तीका गरिबले राहत महसुस गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रका गरिब बस्तीमा पछिल्ला तीन साताबीचमा एक हजार पाँच सय परिवारमा न्यानो सिरक पु¥याइएको समितिका सचिव तथा रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?