सिधा कुरा रवि लामिछानेको छवि बनेको छ । टेलिभिजन कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुले, सिधा कुरा जनतासँग चलाएर वाहवाही पाए । अहिले फेरि सिधा कुरा १२ भाईसँग गरेर रवि लामिछानेले छुट्टै बहसको थालनी गरिदिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले सरकार छाड्दै गर्दा महत्वपूर्ण प्रश्नहरु तेस्र्याएका छन् । सरकार छाड्ने निर्णय गरेपश्चात आयोजित पत्रकार सम्मेलनमा रवि लामिछाने आक्रोशित सुनिए, उनमा संयमता गुमेको देखियो । आज म मुडमा छु भन्दै उनले सरकारबाट बाहिरिनुको कारण निस्फिक्रि खोले र केही गोप्य कुराको पर्दा उघारे । खासगरी उनले मिडिया मालिक र सम्पादकहरु विरुद्ध फायर खोले र विष्फोट भए । उनको आरोप छः केहि मिडियाहरु आफूमाथी निरन्तर प्रहारमा उत्रिए । अदालतलाई प्रभावित गरे । र आफू विरुद्ध फैसला गर्न बाध्य पारे ।
डेढ घण्टा लामो पत्रकार सम्मेलनमा मूख्यत रविको आक्रोशको निशानामा १२ भाई प्रकाशक तथा सम्पादक थिए । नेपाली मिडियाको एजेण्डा सेटिङ गर्दै आइरहेका मूलधारका केही सम्पादकहरुको सिन्डिकेटलाई १२ भाईको संज्ञा दिँदै रविले कान्तिपुरदेखि सेतोपाटीसम्मले आफूलाई बदनियतपूर्वक लखेटेको आरोप लगाए । यति मात्रै होइन, ती मिडियाका मालिक र सम्पादकहरुका लुकेका केही स्क्याण्डलहरु समेत सार्वजनिक गरिदिए । आफूलाई नैतिकहीन भन्ने सम्पादकहरुका ह्वाट्सएप मेसेज खोलेर हेर्नका लागि अपिल गर्दै रविले उनिहरुमाथी गम्भीर नैतिक प्रश्न उठाएका छन् ।
कैलाश सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् । कल बाइपास प्रकरणमा कान्तिपुरको संलग्नता रहेको भन्दै केही समयअघि व्यापक चर्चा भएको थियो तर सो विषयमा अनुसन्धान ढिसमिस भयो । माइतिघर मण्डलामा सिरोहियाका छोराले मापसे गरेर चलाएको गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका थिए । उनिहरुको अस्पतालमा अर्कै नाम राखी उपचार गरिएको थियो । रबिले यो केसमा राज्यको गम्भिर ध्यानकर्षण गराएका छन् । सिरोहियाले अजय सुमार्गी र केही इन्स्योरेन्स कम्पनीसँग गोल्डेन शेयर मागेको कुरा आफैमा गम्भिर छ । यति मात्रै होइन कोरोनाकालमा राजधानीको सोल्टी होटलमा एक युवतिमाथी यौन दुव्र्यवहार गरेको तर सामसुम भएको विषयलाई सांकेतिक रुपमा उठाएका रबिको प्रश्नमा सिरोहियाले उत्तेजित नभइकन जवाफ दिनुपर्ने देखिन्छ ।
अन्नपूर्ण पोष्टका प्रकाशक क्याप्टेन रामेश्वर थापाले पोखरामा किर्ते गरी करोडौँको सम्पत्ति हडपेको आरोप रविले लगाएका छन् । यस विषयमा ठगी अभियोग आकर्षिक हुनुपर्ने हो । किरिया बसेको व्यक्तिका सम्बन्धमा समेत सेतोपाटीमा गलत समाचार आउने गरेको भन्दै रविले त्यसका सम्पादक अमित ढकालमाथी पनि नैतिक प्रश्न उठाएका छन् । अनलाइन खबर, रातो पाटी, सिलापत्र लगायतका अनलाइन संचारमाध्यमहरुको नाम लिँदै रविले ती संचारसंस्थाबाट तथ्यपरक भन्दा पनि बार्गेनिङ नमिलेका समाचार आउने गरेको आरोप लगाएका छन् । केही सम्पादकहरु उनीहरुको आस्थावान पार्टी बाहेकलाई सिध्याउन लागीपरेको आरोप पनि रविको छ । यति मात्रै होइन रविले चर्चित पत्रकार ऋषि धमलाका सम्बन्धमा पनि गम्भीर प्रश्न उठाएका छन् । उनलाई नेपाली पत्रकारिताको जोकर भन्दै ग्यालेक्सी टेलिभिजन खोल्दा धमलाले ५ करोड रुपैयाँ डिल गरेको आरोप लगाएका छन् ।
नेपालको यो हालत हुनुमा देशी विदेशी शक्तिकेन्द्र नभएर यो देशका दुश्मन सिन्डिकेट कायम गर्ने मिडिया भएको दावी गरेका रविका प्रश्नको उचित जवाफ सम्बन्धित व्यक्तिहरुबाट समयक्रममा आउला तर राज्यले पनि यस विषयमा उचित खोजतलास र छानविन गर्नुपर्छ ।
रविले नेपाली मिडियाका ठालूहरु विरुद्ध फायर त खोले । तर यो विषय यत्तिमै सिमित हुनुहुँदैन । यसको निरुपण जरुरी छ । रविको पर्दाफाससँगै अहिले नेपाली समाज दुई धु्रबमा विभाजित भएको छ । केहीले रविले बोलेका कुरा सही भएपनि व्यक्त गर्ने शैली ठिक भएन भनिरहेका छन् भने कतिपयले जनताले बुझ्ने भाषा यस्तै भएको भन्दै उनले दागेका व्यक्ति र उनीहरु सम्बद्ध संस्थाहरुलाई बहिष्कार गर्न थालेका छन् । तर कतिपयले भने सबै गुमेपछिको कुण्ठा मात्र हो भनेर पनि टिप्पणी गरेका छन् ।
रविले भनेझै सेटिङमा तयार पारिएको समाचार लेख्ने वा लेख्न लगाउने, सम्पादकीय स्वतन्त्रता हनन गर्ने, व्यापारी, माफिया, राजनैतिक दलका नेताहरुसँग वार्गेनिङ गर्ने र चित्त नबुझेका व्यक्तिविरुद्ध सुनियोजित आक्रमण गर्ने काम जुन जुन संचारमाध्यमले गरेका छन् त्यो बन्द हुनुपर्छ । यो देशमा कानून भन्दा माथी कोही छैन । सरुवा बढुवा वा नियुक्तिमा अनावश्यक चासो राख्ने र दवाव दिने काम मिडियाबाट बन्द हुनुपर्छ । मुद्दाहरुमाथीको छानविन प्रभावित पार्ने र अदालतसँग हुने मिडियाको साँठगाँठ बन्द हुनुपर्छ ।
रवि लामिछानेले आफूले गरेको गल्ती स्वीकार्दै गलत समाचार लेख्ने मिडिया विरुद्ध धावा बोल्ने संकेत गरेका छन् । यसले उनलाई व्याक फायर पक्कै गर्छ । तर पनि सत्य के हो भने, मिडियाले सत्यतथ्य पस्कने हो, सुनियोजित रुपमा फेक समाचार उत्पादन गर्ने होइन ।
सामाजिक सञ्जाल, संचारमाध्यम र घरघरमा रविको पक्षमा वा विपक्षमा छलफल चल्दै गर्ला तर उनले दागेका केही व्यक्तिहरुको स्क्याण्डल वा कर्तुत भने अब किनारा लााग्नै पर्छ । सिसाको घरमा बसेर विपक्षीलाई फायर खोलेको रबिले उठाएका विषयमा राज्यले अनुसन्धान गर्नैपर्छ । छानविन हुनैपर्छ र फेक समाचार उत्पादन हुने कारखानामाथी कारबाही चलाउनै पर्छ ।
तर यदि रवि गलत सिद्द भए उनीमाथी पनि कारबाहि हुनुपर्छ । उनलाई जथाभावी बोल्ने छुट दिइनु हुँदैन । प्रेस स्वतन्त्रताको आवाज उठाउँदै त्यहि पेशालाई सिढीँ बनाई राजनीतिक उपलब्धी हासिल गरेका रविले पनि यो बुझ्न जरुरी छ कि नदीको फोहर सफा गर्न निस्किएको मानिस आफु निर्मल र कञ्चन हुनैपर्छ । राजनीति गर्छु तर आलोचना सुन्दिन भन्न कहाँ मिल्छ र ? मेरोबारे लेखिनै हुन्न, बोलिनै हुन्न भन्ने धारणा गलत छ । सार्वजनिक पदमा बसेको मानिसमा स्वभावतः प्रश्न उठ्दा त्यसको संयमित जवाफ पो दिनुपर्छ । रवि जी, कहाँ मिडिया सधै कसैको पछि लाग्छ र ? विषय उठ्छ, तपाईको विषय उठ्यो, मिडिया पछि लाग्यो, विषय सेलाउँछ मिडियाका कभरेज कम हुन्छन् । यो वास्तविकतालाई तपाईले चाँहि किन नबुझ्नु भएको ?