साझा कथा । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न ठाउँ पुग्न बाँकी छ । उपत्यकाको चक्रपथभित्र समेत पानी वितरण भइसकेको छैन भने मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी आज (विहिबार) देखि बल्ल वितरण सुरु भएको छ । त्यसको लागि बुधबार पानी वितरण कार्यको परीक्षण गरिएको थियो ।
यसअघि दुई पटक मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको प्रयास गरिएको थियो । मेलम्चीमा बाढी आएसँगै अनिश्चित भएको मेलम्चीको पानी फेरि वितरण सुरु गरिएको छ ।
खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरेको जनाएको छ ।
यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्क, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ ।
यसअघि बोरिङको पानी वितरण गरिँदै आइएको पाइपलाइनबाट नै पानी विभिन्न मन्त्रालय र निकायमा वितरण गरिनेछ । अहिलेसम्मको तथ्याङ्कअनुसार २६ वटा धाराबाट पानी वितरण हुँदै आएको छ । सुरुमा ती धाराबाट नै मेलम्चीको पानी वितरण गरिनेछ । त्यसपछि पाइपलाइन थपिँदै जाने बताइएको छ ।
सिंहदरबारमा ‘पिक–आवर’मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरिएको छ । प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताएका छन् ।