Ad Banner

महिना दिनमै ढल्यो सुदुरपश्चिम सरकार, अब काँग्रेसले पहल गर्ने

साझा कथा ।  सूदुरपश्चिम प्रदेश सरकार १ महिना नपुग्दै ढलेको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन् ।

विश्वासको मतका लागि मुख्यमन्त्री रावलले पेस गरेको प्रस्ताव नै छलफलका लागि पारित हुन नसकेपछि रावल पदमुक्त भएका हुन् । उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी पुगेनन् ।

रावलले माघ २५ गते दिउँसो १ बजे विश्वासको मत लिने भनेर सभामुखलाई संसद बैठक बोलाउन पत्राचार गरेका थिए । काठमाडौं गएका नागरिक उन्मुक्ति पार्टीका सांसद धनगढी नफर्किएपछि बैठक आजलाई सारिएको थियो ।

एमाले नेतृत्वको सरकार ढलेपछि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गर्ने संकेत देखिएको छ । राजधानीमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसदसँग काँग्रेस नेतृत्वले छलफल गरेको स्रोतको भनाई छ । केन्द्रमा राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले र माओवादीबीच शंका उपशंका चलिरहेको बेला सुदुरपश्चिममा एमाले नेतृत्वको सरकार ढल्नुलाई नागरिक उन्मुक्तिको निर्णय मात्रै भन्दा पनि माओवादी र काँग्रेसबीच हुने भावी गठबन्धनसँग जोडेर हेरिएको छ ।

 

यो पढ्नु भयो ?