साझा कथा । अमेरिकी सहायता नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावरले अमेरिकाले नेपालमा गर्ने लगानी भूराजनीतिसँग नजोडिएको स्पष्ट पारेकी छन् । एमसीसी परियोजनामा गरिएको लगानीतर्फ संकेत गर्दै पावरले एमसीसी इन्डो प्यासेफिक लगायत भूराजनीतिक एजेण्डाहरुसँग सम्बन्धित नरहेको बताएकी हुन् ।
दुई दिने नेपाल भ्रमणको अन्त्य गर्दै उनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालसँगको मित्रताको सम्बन्धलाई थप बिस्तार गर्न चाहेको बताइन् । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको उनले स्मरण गराइन् ।
उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रुपमा नबुझ्नसमेत आग्रह गरिन् । अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको बताउँदै उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन् । उनले भनिन्, ‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला । हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ । नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको
हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गर्नुभएका प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको बताइन् । साथै सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरेको जानकारी पनि उनले दिइन् ।