साझा कथा ।
स्वच्छ र सफा सहरको परिचय बनाएको पोखराको वायु प्रदूषणको इन्डेक्स भने ‘खतरनाक’ आएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार प्रदूषणको सूचक तीन सयभन्दा माथि आएकाले पोखराको वायु प्रदूषण खतरनाक मानिएको हो ।
स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । तर, पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको छ ।
तथ्याङ्कअनुसार पोखराको वायु प्रदूषण दिनानुदिन बढ्दै गएको छ । संस्थाले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार पोखरामा यसको दर बढिरहेको छ । सो संस्थाले पोखरामा वायु प्रदूषण मापन यन्त्र राखेर अध्ययन थालेको छ । बुधबार ८ः३० बजेको समयमा पोखराको हावामा प्रदूषणको सूचक तीन सय ५१ देखाएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा पराजुलीले जानकारी दिइन् ।
सूचकअनुसार शून्य देखि ५० सम्मलाई राम्रो, ५० देखि एक सयसम्मलाई नराम्रो, एक सयदेखि दुई सयसम्म अस्वस्थकर, दुई सयदेखि तीन सयसम्म अति अस्वस्थकर र तीन सयदेखि माथि खतरनाक मानिने
पोखरामा दैनिक, मासिक, त्रैमासिक तथ्याङ्कमा वायु प्रदूषण मात्रा बढ्दै गएको उनको भनाइ थियो । “हामीले सन् २०२२ देखि नै यो डिभाइस राखेर तथ्याङ्क लिने काम गरेका छौँ”, पराजुलीले भने, “पहिला महेन्द्रपुलमा राखेका थियौँ, त्यहाँ सवारी आवागमन धेरै हुने भएकाले धेरै नै देखाउने भयो, अहिले नयाँबजार क्षेत्रमा राखेका छौँ, यहाँ पनि दिनानुदिन प्रदूषण इन्डेक्स बढ्दै गएको छ ।”
सो यन्त्रको सूचकअनुसार शून्य देखि ५० सम्मलाई राम्रो, ५० देखि एक सयसम्मलाई नराम्रो, एक सयदेखि दुई सयसम्म अस्वस्थकर, दुई सयदेखि तीन सयसम्म अति अस्वस्थकर र तीन सयदेखि माथि खतरनाक मानिने उनले जानकारी दिइन् ।
पोखरामा बिहान ८ देखि दिँउसो १२ बजेसम्म प्रदूषणको मात्रा बढी हुने गरेको स्वच्छ ऊर्जा नेपालका प्राविधिक सल्लाहकार डा. भूपेन्द्र दासले बताए । यन्त्रबाट मापन गर्दा बढ्दोक्रममा भेटिएकाले पोखराले वायु प्रदूषण कम गर्ने विषयमा सोच्ने बेला भएको उनले बताए । “नोभेम्बर–डिसेम्बरमा अलि बढी नै वायु प्रदूषण हुन्छ”, उनले भने, “तर अन्य समयमा समेत बढ्दो स्थितिमा छ ।” जाडोयाममा पानी नपरेका कारण पनि वायु प्रदूषण बढेको प्राविधिक सल्लाहकार डा. दासले बताए ।
डिजल पेट्रोलबाट चल्ने सवारीसाधन, निर्माण क्षेत्रबाट आउने प्रदूषण पनि वायू प्रदूषणको कारक हो । उद्योग, निर्माणस्थल, फोहर तथा कृषिउपज जलाउनु साथै वरिपरिका डाँडाका वनजङ्गलमा डढेलो लाग्नाले पनि पोखराको वायु प्रदूषण वृद्धि भएको डा. दासका भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताए । पोखराको वायु प्रदूषण बढेको प्रति गम्भीर रहेको जनाउँदै उनले स्वच्छ वातावरणका लागि नीतिगतरूपमै कार्यक्रम तय गरिएको जानकारी दिए ।