रविको पासपोर्टमाथीको उजुरीको छानविन जारी

साझा कथा । नागरिकता प्रकरणमा उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथिको छानविन सुरु भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले रविको पासपोर्टका सम्बन्धमा परेको उजुरीबारे अनुसन्धान थालेको हो । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागबाट रविको विस्तृत विवरण मागेर छानविन सुरु गरिएको सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिलले जानकारी दिए । ‘युवराज पौडेलले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्य हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने योजना छ,’ उनले भने ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल ‘सफल’ले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो ।

लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरेको रेकर्ड छ । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किएको र १३ जेठमा नेपाली पासपोर्ट लिएको देखिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?