साझा कथा । सुदुरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै त्यसको असर अन्य प्रदेशमा पनि देखिन थालेको छ । खासगरी केन्द्रमा हुन लागेको राष्ट्रपतिको चुनावमा एमालेको उमेदवारलाई माओवादीले सघाउने वा नसघाउने आशंकाबीच प्रदेशमा समीकरण परिवर्तन हुँदैछ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले नेतृत्वका प्रदेश सरकारहरु ढलाउने योजना सुनाइरहेका बेला लुम्बिनी प्रदेशमा माओवादी सरकारबाट बाहिरिएको छ । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेकी माओवादी केन्द्रकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो ।
हुन त उनलाई राजीनामा लगाउनुपर्ने बहाना चाँहि यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई केसीले मतदान नगरी कांग्रेसलाई सघाएको आरोप छ ।
माओवादीले लुम्बिनी प्रदेशमा तीन मन्त्रालय पाउने सहमति भएको थियो । जसमध्ये उनी एक जना र अन्य दुई जना भोलि आइतबार पठाउने तयारीमा माओवादी थियो । माओवादीले दल नेता जोगहादुर महरा एक जनालाई सरकारमा पठाउने र अर्को एक जनामा कसलाई पठाउने भन्ने विवाद हुँदा नाम टुंगो लगाउन सकेको थिएन । तर शनिबार राजनीतिमा नयाँ परिदृश्य देखा परेको हो ।
मन्त्री नियुक्त भएको ३१ दिनमै प्रदेश मन्त्री कृष्णाले पदबाट राजीनामा दिएकी छिन् । उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् । मुख्यमन्त्री लिला गिरिले विश्वासको मत पाइसकेका छन् तर केन्द्रमा हुने सत्ता समीकरणको फेरबदलले प्रदेशका सरकारहरु संकटमा पर्नेछन् । तर राष्ट्रपतिको चुनावमा एमालेको उमेदवारलाई माओवादीले सघाएमा अहिलेकै सरकारहरु अगाडि जान सक्ने देखिएको छ ।
नेपाली काँग्रेस भने केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन प्रयत्नशील छ । उसको आँखा प्रदेशका सरकारहरुमा पनि छ । त्यसका लागि माओवादीले समेत स्वीकार गर्नसक्ने स्वतन्त्र व्यक्तिलाई राष्ट्रपतिको रुपमा खडा गर्ने नैतिक दवाव काँग्रेससामु छ । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका कार्यकर्ता राष्ट्रपति हुँदा मुलुकले दुःख पाएको भन्दै स्वतन्त्र व्यक्तिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् ।