डाक्टरहरुको आन्दोलनका कारण विरामी मर्कामा, सेवा सूचारु गराउन पहल जारी

साझा कथा । नेपाल चिकित्सक संघको आव्हानमा मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा अवरुद्ध हुँदा विरामीहरु मर्कामा परेका छन् । नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधमा चिकित्सक संघ आन्दोलित भएको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु सामान्य घटना नभएको भन्दै बिरोध गर्नुपरेको बताए ।

रिजालले हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आएका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर विशिष्ट व्यक्तिको सवारीको नाममा अलपत्र पार्ने/आकस्मिक सेवा लिन पाउने जनताको अधिकार कुण्ठित गर्ने सेवा प्रवाहमा अवरोध गर्ने कामको बिरोध गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

चिकित्सकहरुको विरोधका कारण विहानै देशभरका अस्पताल पुगेका विरामी र विरामीका आफन्तहरु अलपत्र परेका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन् ।

उता आन्दोलनरत चिकित्सकहरुसँग सरकारले पनि वार्ता गरिरहेको छ । आइतबार विहानैदेखि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल चलिरहेको छ । वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?