“राष्ट्रपतिमा विमति छ भन्ने हल्ला मात्रै हो, रास्वपा सरकारमा आउन सक्ने”

साझा कथा । सत्तारुढ दलका नेताहरुले राष्ट्रपति चयनका सम्बन्धमा सरकारमा रहेका दलहरुबीच नै विमति छ भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाउँदै राष्ट्रपतिको निर्वाचनमा साझा उमेदवार बनाउने सहमति गरेको छ ।

बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गरे । सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताउँदै लिङ्देनले राष्ट्रपतिको चयनसम्बन्धमा बाहिर हल्ला मात्रै फिँजाइएको बताए ।

मन्त्री लिङदेनले सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आएपनि त्यसमा सत्यता नभएको जिकिर गरे । सहमति बमोजिम एमालेले खडा गर्ने उमेदवार नै सत्ता साझेदारहरुको उमेदवार हुने उनको संकेत थियो । आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरुको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे ? भन्ने विषयमा समीक्षाहरु भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ । राष्ट्रपतिका विषयमा साझेदार दलहरुमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन । रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ ।’

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?