सुशील कोइरालाको स्मृतिमा “राजद्रोही राजनेता” प्रदर्शन

साझा कथा । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसको अवसर पारेर राजद्रोही राजनेता वृत्तचित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटिमण्डपस्थित नेपाल पर्यटन बोर्डमा वृत्तचित्र प्रदर्शन गरिएको हो ।
वृत्तचित्र हेर्नका लागि पूर्व राष्ट्रपति डा. रामवरण यादव, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत राजनैतिक व्यक्तिहरु, डा. भोला रिजाल, डा. आनन्द शर्मा लगायत पेशागत व्यक्तिहरु, संचारकर्मी र सर्वसाधारण सहभागी भएका थिए ।

काँग्रेसका संस्थापक समेत रहेका विपि आफूमाथी लागेका ८ वटा राजद्रोह सम्बन्धी मुद्दा हुँदाहुँदै त्यसको परवाह नगरी २०३३ सालमा नेपाल फर्किएका थिए । त्यसपछि घोषणा गरिएको जनमत संग्रहको प्रसंग समेतलाई वृत्तचित्रले उजागर गरेको छ ।

वृत्तचित्र हेरिसकेपछि पूर्वराष्ट्रपति रामवरण यादवले वृत्तचित्रको समग्र पक्ष राम्रो भएपनि विपि र गणेशमानले अदालतमा आफैँ गरेको बहसको विषय पनि समेटिएको भए अझ राम्रो हुने प्रतिक्रिया दिए ।

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले विपिका केही लुकेका कुराहरु, राजनीति, अर्थनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा विपिका नीति के थिए भन्ने विषयमा यस डकुमेन्ट्रीले देखाउन खोजेको प्रतिक्रिया दिए । साथै एकजना नेताको सोँच कस्तो हुनुपर्छ र कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा नेपाली नेताहरुलाई यो सन्दर्भसामग्री हुन सक्ने उनको भनाई छ ।

यस्तै वरिष्ठ चिकित्सक डा. भोला रिजालले महापुरुषको डकुमेन्ट्री हेर्न पाउँदा आफूलाई खुशी महशुस भएको बताए । विपि विराटनगरमा आफ्नो छिमेकी पनि भएको नाताले उनीसँग आफ्नो सामित्यता छुट्टै भएको डा. रिजालको भनाई थियो ।

वृत्तचित्रका निर्देशक जगत नेपालले विपि कोइरालाले एउटा राजनेताको रुपमा के चाहन्थे र कसरी काम गर्थे भन्ने विषयमा वृत्तचित्रले चित्रण गरेको बताए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?