जनजीविकाका सवालमा आवाज बुलंद पार्दै सांसदहरु

साझा कथा । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले जनजीविकाका सवाल, राष्ट्रिय मुद्दा र स्थानीय स्तरका मुद्दाका विषयमा आफ्नो आवाज मुखरित गरेका छन् । उनीहरुले आत्महत्याका घटनादेखि पहाडी जिल्लामा समयमा पुस्तक नपुग्नेसम्मका विषय उठान गरेका छन् । साथै विमानस्थल सूचारु गर्ने र सडक निर्माणको काममा समेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताए । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को व्याजदरका कारण धेरै मानिसहरुले आत्महत्या गर्ने सम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने – ‘ग्रामिण इलाकामा बस्ने जनताहरु लघुवित्तको कारणले गर्दा ४० जनाजतिले आत्महत्या गरेका छन् । चर्को व्याज र सेवा सुविधामा चर्को लेनदेनको कारणले गर्दा त्यसमा पनि अत्याधिक महिलाहरु परेको सञ्चारमाध्यमबाट आइरहेको छ । नेपालको कानूनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्नेकुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कतिछिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ । तर नेपालमा यतिधेरै मानिसहरुले, महिलाहरुले आत्महत्या गर्नेकुरा राष्ट्रिय समाचार बन्दापनि यसको बारेमा हामी मौन छौँ । यसको बारेमा जानकारी पाउनुप¥यो र सरकारले सुरक्षित गर्नुप¥यो । के हो ? अनुसन्धानको दायराभित्र आउनुप¥यो ।

नेकपा एमालेका सांसद रघुजी पन्तले विशिष्ट व्यक्तिहरुको सवारी जनतालाई अप्ठ्यारो नपर्नेगरी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे । विशिष्ट व्यक्तिको सवारी लोकतन्त्र अनुकुल नभएको उनको भनाई छ । सवारीलाई खुकुलो बनाउन सुरक्षा संयन्त्रले नचाहेको भन्दै उनले यस समस्याको समाधान राजनीतिक नेतृत्वबाटै खोज्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरुमा फागुन १ गतेदेखि शैक्षिक सत्र शुरु हुने भएकाले तुरुन्तै किताव
उपलब्ध गराउन माग गरे । उनले भने, ‘हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिकसत्र शुरु हुन्छ । तर अहिलेसम्म किताव पु¥याइएको छैन । सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र शुरु हुने भनेको छ । हिमाली जिल्ला सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र शुरु हुँदैछ । बाँकी दुई महिना त्यहाका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । सरकारले मतपत्र छाप्न सक्छ त किताव छाप्न किन सक्दैन रु छिटोभन्दा छिटो किताव उपलब्ध गराइयोस् ।’ मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्दै उनले सरकारसँग प्रश्न पनि गरे ।

सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गराउन माग गरे । कास्कीमा ३० हजार भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेको भन्दै उनीहरुको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल पाउन नसकेको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकार सँग माग गरे ।

सांसद मुक्ताकुमारी यादवले राज्यका विशिष्ट व्यक्तिले सवारीका क्रममा शक्तिको चरम दुरुपयोग गरेको बताइन् । विशिष्ट व्यक्तिको तडकभडक शैलीका कारण जनताले लोकतन्त्रको अनुभुति गर्न नसकेका भन्दै उनले आगामी दिनमा यस्तो संस्कारको विकास नहोस् भनी ध्यानाकर्षण गराइन् ।

सांसद मेनकाकुमारी पोखरेलले दाङको घोराही–तुलसीपुरको ४ लेन सडक समयमा नबन्दा जनताले सास्ती भोगेको भन्दै तुरुन्त निर्माण कार्य प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद मैना कार्कीले जाँजरकोटको नलगाड हाइड्रोपावरको ८० महिना बित्दासमेत डिपिआर प्रतिवेदन आउन नसकेको भन्दै तत्काल सम्वद्ध कम्पनीलाई कारबाही गर्न माग गरिन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?