Ad Banner

यातायात मजदुरले जलाए प्रहरी भ्यान र बिट, मंगलबार उपत्यका बन्दको घोषणा

साझा कथा । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुई ओटा भ्यान र बालाजुस्थित अस्थाई प्रहरी बिटमा आगजनी गरेका छन् ।

सोमबार दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरेका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भ्यानसँगै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्डमा पनि आगो लगाइदिएका छन् ।

दिउँसो १ बजेदेखि नै भएको प्रदर्शनमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका थिए भने प्रहरीले जवाफी कारबाहीमा केही सेल अश्रुग्याँस चलाएका थिए ।

यसैबीच, आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेका हुन् ।

यो पढ्नु भयो ?