सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट शुरु हुनेछ – प्रधानमन्त्री

साझा कथा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्द गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको उनको प्रष्टोक्ति थियो ।

आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै उनले असफल हुने छुट नरहेको उल्लेख गरे । सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोशिषहरु भइरहेकोले पनि जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै उलने छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने जानकारी गराए ।

सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट शुरु गर्ने उद्घोष गर्दै उनले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने बताए ।

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गरेका छन् । सोही सिलसिलामा उनी आज सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ ।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग लगातार प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै आइरहेका थिए ।

 

 

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?