साझा कथा । दुई दिने नेपाल भ्रमणको लागि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । क्वात्रालाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव त्रिभुवन विमानस्थल पुगेका थिए ।
सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका क्वात्राले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । आज सोमवार र मंगलवार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।
सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।
आजै विदेश सचिवले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।
सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग क्वात्राले भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएका बेला भारतीय विदेश सचिव नेपाल आइपुगेका हुन् ।