टर्की भूकम्प – नेपालबाट २२ टन राहत सामग्री गयो, मृत्यु हुनेको संख्या ३४ हजार

साझा कथा । भुकम्पका कारण क्षतिग्रस्त भएको टर्की र सिरियाका लागि नेपालले औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ ।

भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज सोमबार त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत ६ फेब्रुअरीमा गएको विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ठूलो जनधनको क्षति भएको छ । हालसम्म त्यहाँ ३४ हजार व्यक्तिहरुको मृत्यु भइसकेको छ भने हजारौँ घरहरु भग्नावशेषमा परिणत भएका छन् ।

त्यहाँ जारी राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताएकी थिइन् ।

टर्कीस एअरलाइन्समार्फत राहत सामग्री पठाइएको हो । आधारभूत सामग्रीसँगै नेपालबाट विशेषज्ञ चिकित्सकहरु पनि पठाउने योजना छ ।टर्कीमा भूकम्प गएको १४७ घण्टापछि पनि केही व्यक्तिहरुलाई भग्नावशेषबाट जिवितै उद्दार गरिएको छ ।

सिरियाका उत्तरी भूभागमा भने खोज, उद्दार तथा राहत वितरणमा समस्या भइरहेको अन्तर्राष्ट्रिय संचार संस्था सीएनएनले जनाएको छ । त्यहाँका विद्रोहीका कारण मानवीय सहायताका काम जटिल बनेको बताइएको छ । इजरायली उद्दार टोलीले सुरक्षा चुनौतीका कारण भन्दै खोज तथा उद्दार कार्य स्थगीत गरेको जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?