शिवरात्रीका लागि सजिँदै छ पशुपति परिसर

साझा कथा । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । मन्दिर परिसरमा रङरोगनको काम धमाभम भइरहेको छ । यस वर्ष फाल्गुन  ६ गते महाशिवरात्री पर्व मनाइँदै छ ।

महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोगन र फूलहरुले सजाउन थालिएको छ । शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने काम भइरहेको छ भने वरपरका क्षेत्रहरुमा सरसफाईको काम पनि भइरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?