दर्शकवृन्द, के तपाईलाई थाहा छ, नेपालको आइ क्यु लेभल कति होला ? अथवा बौद्धिक स्तरमा नेपाल कहाँ होला ? एकदमै लास्ट । हो, बौद्धिकता मापनसम्बन्धमा विश्वका १९९ राष्ट्रहरुमा गरिएको एउटा सर्वेक्षणले नेपाल १९९ औँ नम्बरमा देखाएको छ ।
वल्र्ड पपुलेशन भ्युजले हालै सार्वजनिक गरेको आइ क्यु लेभलको तथ्यांक अनुसार जापान पहिलो नम्बरमा हुँदा नेपाल सबैभन्दा पुछारमा छ । शुन्यदेखि २ सय अंकभार तोकिएको सूचकांकमा नेपालले ४२.९९ अंक प्राप्त गरेको छ । जापानले १०६.४८ अंक सहित पहिलो बौद्धिक राष्ट्रको पहिचान बनाएको छ । यस्तै १०६.४७ अंकसहित ताइवान दोस्रो र १०५.८९ अंकसहित सिंगापुर तेस्रो बौद्धिक मुलुक बनेका छन् । छिमेकी मुलुक चीन १०४.१ अंक सहित पाँचौँ बौद्धिक मुलुक बन्दा भारत भने ७६.२४ अंक सहित १४३ औँ नम्बरमा छ ।
दक्षिण एशियाली राष्ट्रहरुमध्ये सबैभन्दा सुध्रिएको अवस्था भुटानको छ जसले ८७.९४ अंक सहित ६८ औँ स्थान प्राप्त गरेको छ । नेपालले द्वन्द्वग्रस्त र समस्याग्रस्त अफ्रिकि मुलुकहरु लाइबेरिया, सुडान, घाना जस्ता राष्ट्रभन्दा पनि कम अंक प्राप्त गरेको छ । जबकी अघिल्लो बर्ष १८४ राष्ट्रहरुमा गरिएको सर्वेक्षणमा नेपाल १३९ औँ नम्बरमा थियो ।
अध्ययनकर्ताहरुले कुनै पनि देशको बौद्धिक स्तर मापन गर्दा त्यस देशको साक्षरता, शैक्षिक गुणस्तर, जनतामा रहेको ज्ञान, चेतना, तर्क क्षमता र विश्लेषण क्षमता, नयाँ डाटा प्रविधिको प्रयोग लगायतका विषय अध्ययन गर्ने गर्दछन् ।
नेपालमा वुद्धिजिबिको कमी छैन । तर हामीले मान्दै आएका बुद्धिजिविहरुको पाईन भने निम्नस्तरको छ । विद्धान भनाउँदाहरुको पक्षधरता र दल निकटको वुद्धि मात्रै भेटिन्छ नेपालमा । एउटा विषयको विज्ञ भनिएकाहरुले अरु थुप्रै विषयमा प्रवचन दिएको सुनेका छौँ ।
अन्तर्राष्ट्रिय स्तरमा वुद्धिविलास गर्न सक्ने वुद्धिजिबिको संख्या त एकदमै न्यून छ । देशको पक्षमा विश्वमञ्चमा वकालत गर्न सक्ने, सरकारलाई निश्पक्ष सुझाव दिन सक्ने थिंक ट्याङ्क त औँलामा गन्न सकिने छन् । अनि कसरी सप्रियोस् बौद्धिक स्तर ?
अध्ययनकर्ताहरुका अनुसार कुनै पनि देशमा लिइने शैक्षिक परीक्षाको नतिजालाई पनि तथ्यांक संकलनको आधार बनाइन्छ । नेपालका विश्वविद्यालय शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना मात्रै हुन् भन्दा फरक नपर्ला । राजनीति गर्ने शिक्षक, दलका ढोकाढोका चाहरेर विश्वविद्यालयमा नियुक्ति पाउने प्राध्यापक र प्रशासक, अनि अव्यवहारिक पढाई र ३ घण्टे परीक्षाका आधारमा मूल्यांकन गर्ने प्रणालीले कसरी शैक्षिक गुणस्तर सुध्रियोस् त ? नोबल पुरस्कारलगायतका अन्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गर्ने त आकाशको फल जस्तै छ । भलै महावीर पुन र डा. सन्दुक रुइतहरुले नाक जोगाइदिएका छन् ।
नेपाल बुद्ध ज्ञानको आधारभूमि हो, वेदव्यास र बाल्मिकीको तपोभूमि हो, राजा जनकले सत्य सिकाएको ठाउँ हो, अरनिकोको कला भर्ने फाँट हो, कालीदासले कोरेको देश हो, भानुभक्त र मोतिरामले सिञ्चित गरेको देश हो, योगी नरहरीनाथदेखि खप्तडबाबा हुँदै महाकवी लक्ष्मीप्रसाद देवकोटासम्मको जन्मभूमि हो, योग र ध्यानको संगमस्थल हो तर हामी नदीको किनारमा हुत्तिएको मुँडो भएका छौँ । अथाह ज्ञानका सागर हाम्रा पुर्खाहरुलाई धारे हात लगाइरहेका छौँ, यहिँ भूमिबाट गएको चेतना र ज्ञानको प्रकाश पश्चिमा देशमा गएर उतै जाज्वल्यमान हुँदा हामी बौद्धिकताको अन्तिम लाइनमा उभिएका छौँ ।
बुद्धिमा विर्को लागेका अविवेकी मान्छे बनेका छौँ । एकजना कथित विश्लेषक युट्युबमा कुर्लिदा हामी त्यसैको पछिपछि लाग्छौँ । आफ्नो विचार र विवेक बन्धकी राखेपछि भेडाहरुले नदीमा एकपछि अर्को गर्दै हाम्फालेजस्तै गरी हामी पनि अन्धकारमा हाम फालिरहेका छौँ । हाम्रो राजनैतिक प्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध अरुको कृपामा चल्छ, अर्थनीति अरुले बनाइदिनुपर्छ । स्वास्थ्य सेवा विदेशीकै कृपामा चल्छ । शैक्षिक प्रणाली, भाषा, संस्कृति अरु देशकै प्रिय लाग्छ अनि कसरी बन्छ बौद्धिक देश ?
मुलुकमा व्याप्त गरिबी, शैक्षिक गुणस्तर र स्वास्थ्य सुविधालाई हामी प्राथमिकतामा राख्दैनौँ, राख्छौँ त केबल राजनैतिक व्यवस्था । हामी अध्ययनमा रुची राख्दैनौँ, खोज अनुसन्धानमा हाम्रो चासो र लगानी शून्य छ । नेपालीको सरोकारको विषय त केबल सत्ता, सरकार र राजनीति मात्र छ । यहाँ बौद्धिकताको के कदर ? जो सम्पन्न छ, ऊ नै बौद्धिक ? ऊ नै सर्वज्ञानी ? ऊ नै सर्वगुणसम्पन्न । अनि कसरी बन्छ बुद्धिमा तिक्ष्ण देश ?
हुन त, बेलायति नागरिकहरु रिचार्ड लिन र डेभिड बेकरले गर्दै आइरहेको यस्तो अध्ययन र तयार पार्ने रिपोर्टमाथी वैज्ञानिकता र निश्पक्षताको प्रश्नै नउठ्ने होइन । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, अधिकाँश मुलुकका व्युरोक्रेसी र विद्वत वर्गले यस्तै अध्ययनलाई आधार बनाएर देशहरुको विश्लेषण गर्ने र जनताप्रति सोही अनुसारको व्यवहार गर्ने गरेका छन् । हामी पश्चिमा मुलुकको विमानस्थलमा ओर्लिदा त्यसै केरकारमा पर्दैनौं, सबैभन्दा कमजोर पासपोर्ट बोकेर हिँडेको भनेर त्यसै हेपिन्नौं । यसका पछाडी यस्तै अध्ययन प्रतिवेदनहरुको पनि भुमिका हुन्छ । २०२३ मा मन्दवुद्धिको उपाधी पाएका हामीले २०२४, २५ हुँदै आगामी दशकमा हाम्रो स्तर कहाँ पुर्याउँछौँ, त्यसको निर्धारणकर्ता हामी नै हौँ ।