अस्पतालहरुमा ‘टाइम कार्ड’ लागू गर्ने तयारी

साझा कथा । सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि सबै सरकारी अस्पतालहरुमा ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने विषय समावेश गरिएको थियो ।

यसले निश्चित समयभित्र र निर्धारित कार्यतालिका अनुसार विरामीलाई सेवा दिन मद्दत पुग्ने सरकारको विश्वास छ ।

मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरलगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजनामा उल्लेख गरेको छ ।

यस्तै कार्ययोजनामा सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ । यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?