साझा कथा । नामिबिया विरुद्धको आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले शानदार जीत हासिल गरेको छ । सुरुवाति फिल्डिङ गरेको नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो । ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेपछि नेपाल सोमबार नामिबियामाथि हाबी भयो ।
लिग टु क्रिकेटमा नेपालका खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि भुर्तेलले ९९ बल खेल्दै ९ चौका र ४ छक्काको सहायतामा १०० रन बनाए ।
यो सँगै भुर्तेल नेपालका लागि ओडीआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पारस खड्का, दिपेन्द्रसिंह ऐरी र रोहित पौडेलले सतक बनाएका छन् । कुशल भुर्तेल यो खेलको ‘म्यान अफ् द म्याच’ पनि घोषित भएका छन् ।
नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो । नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर टाई गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो ।