साझा कथा । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका हुन् ।
ओलीले आफूलाई सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै उनले तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरे । ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिरहेको भन्दै सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गरे ।
अहिले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाउँदै सांसद पौडेलले संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे ।