साझा कथा । सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवसायी र प्रहरी प्रशासनसँग छलफल गरेका छन् । व्यवसायीहरुको ज्ञापनपत्र बुझेका प्रचण्डले प्रहरी प्रशासनलाई घटनाको गम्भीर रूपमा छानबिन गर्न निर्देशन दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा अंगका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले भने, “गोङ्गबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।”
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वानुमान नगरेको बताएका छन् । छलफलका क्रममा उनीहरुले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी पनि गराए ।
यस्तै आजै मोबाइल लगायत सरसामान लुटिएका ल्होत्से मलका व्यवसायीहरुसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरे । व्यवसायीहरुले व्यवसायिक सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाए भने प्रधानमन्त्रीले सुरक्षा निकायसँग छलफल गरेर घटनाको यथार्थ बाहिर ल्याउने र दोषीमाथी कारबाही गर्ने वचन पनि दिएका थिए ।
PC: Secretariat