“नेताहरुका एउटा एउटा विश्वविद्यालय छन्, चित्त एकदम सानो छ”

साझा कथा । शिक्षाविद्हरुले स्वार्थ बाझिने गरी सरकारले नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको टिप्पणी गरेका छन् । संघीय शासन प्रणालीको एक कार्यकाल अवधि सकिँदा पनि संघीय शिक्षा ल्याउन नसकेको सरकारले विश्वविद्यालय छाता ऐन नल्याएर एउटा मात्रै बोक्नु गलत हुने तर्क उनीहरुको छ ।

मुलुकको आवश्यकता अनुसार समग्र शिक्षा प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउन संघीय शिक्षा ऐन र विश्वविद्यालयहरुलाई व्यवस्थित बनाउन विश्वविद्यालय छाता ऐन ल्याउनु अहिलेको आवश्यकता भएको उनीहरुको धारणा छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शिक्षाविद् विद्यानाथ कोईरालाले संघीय संरचना अनुसार केन्द्रिय, क्षेत्रीय, एकल विषय, बहुविषय, गैरसरकारी, संस्थागत, साझेदारी तथा अन्तर्राष्ट्रियस्तरका के कति विश्वविद्यालय कुनकुन स्थानमा खोल्ने भन्ने कुरा पहिला निक्र्यौल गरिनुपर्ने बताए । नेताहरुले नेतृत्व लिन भन्दा क्षेतृत्व (क्षेत्रीय मुद्दा) लिएर हिँडेको आरोप उनको छ । नेपालका नेताहरुले एउटा एउटा विश्वविद्यालय बोकेर हिँड्ने गरिरहेको भन्दै उनले उनीहरुको चित्त पनि एकदमै सानो भएको आरोप लगाए ।

सत्तामा गएपछि सबै चिज हुने र सत्ताबाहिर केही पनि छैन भनेर बोल्ने गरेका नेतृत्वलाई पहाडको, मधेसको, हिमालको, संस्कृतिको, भाषाको सम्भावना बुझाउन नसकिएको कोइरालाको धारणा छ । एउटा विश्वविद्यालय बोकेर ठिक र बेठिक भन्नु भनेको सांसदहरुको बौद्धिक दिवालियाको कुराकानी भएको भन्दै उनले कतिवटा विश्वविद्यालय चाहिन्छ भन्ने कुरा सांसदहरुले निर्णय गरिदिनुपर्ने बताए ।

उनले भने,”हाम्रो नेतृत्वलाई यहाँले कसरी हेर्नुभएको छ ? थाहा छैन । मैले उहाँहरुलाई सानो मुटु भएका नेतृत्व हुन् भनेर बुझ्छु । चाहे ओली होस्, चाहे गिरिराजमणि होस् । उहाँहरु एउटा, एउटा बोक्नुहुन्छ । ओलीले बोक्ने भनेको मदन भण्डारी विश्वविद्यालय, गिरिराजमणिले बोक्ने भनेको योगमाया विश्वविद्यालय । हिजो राजर्षी जनक बोकेर (विमलेन्द्र निधी) निधीजीले गर्ने तरिका वा बालकृष्ण खाँणले लुम्बिनी बौद्ध विश्वविद्यालय बोक्ने किसिमको बुद्धि एउटै भाँडो हो । यो भाँडो भन्दा पर हाम्रो नेतृत्व छैन ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?