गण्डकी प्रदेशको स्थापना दिवसमा के भने प्रदेश प्रमुख र मुख्यमन्त्रीले ?

साझा कथा । गण्डकी प्रदेशले आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताए । आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए ।

“सङ्घर्षका बेला जनताका सामु तपाईँ हामीले गरेका प्रतिबद्धता पूरा गर्ने गरी शासन पद्धतिलाई अघि बढाउनसक्ने हो भने मात्र आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन्”, उनले भने । आम नागरिकले पटक–पटक फेरिने मुद्दा र नारा होइन परिणाममा उपलब्धि खोजिरहेको बताउँदै उनले अबका योजना परिणाम दिने गरी बन्ने अपेक्षा गरे ।

यसअघि निमित्त प्रदेश सरकारका माध्यमबाट जनस्तरमा धेरै कार्य भएको उल्लेख गर्दै उनले जनताको घर दैलोमा प्रदेश सरकारका माध्यमबाट हुने विकास र समृद्धिका कार्यको राम्रो सुरुआत भएको र समृद्ध गण्डकी प्रदेश बनाउन धेरै कार्य गर्न अझै बाँकी नै रहेको बताए ।

जनताले प्रदेश सरकारका माध्यमबाट जुन उपलब्धिको आशा गरेका छन् त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी भएको बताउँदै प्रदेश प्रमुख गुरुङले सरकारले विभिन्न राजनीतिक दल र आम नागरिकको भावनालाई समेटेर साझा बाटोमा हिँड्नुपर्ने आवश्यकता औंँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको जानकारी गराए । संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताउँदै उनले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?