सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की

साझा कथा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको आरोप लगाइन् ।

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक अवस्था कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको भन्दै उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन् ।

आर्यघाटमा पु¥याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिनु चिन्ताजनक भएको भन्दै नेताहरुले शवमा पनि व्यापार गरिरहेको गम्भीर आरोप लगाइन् । उनले भनिन्, ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ । छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन । जग्गा बेचेको छ, ऋण लिएको छ । स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ । पहिला त्यस्तो थिएन ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको लागि भिडेर बसिरहेको उल्लेख गरिन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?