साझा कथा । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई आगामी १० गते बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिने निर्णय भएको जानकारी दिइन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको उक्त विधेयक विवादित हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । त्यही अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्का ३ जना मात्र उपस्थित भएर संवैधानिक निकायहरुमा धमाधम नियुक्ति सिफारिस गरेको थियो ।