साझा कथा । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै लेखकले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने जिकिर गरे ।
एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखाएको आरोप लगाउँदै उनले अहिलेको सत्ता गठबन्धन स्थीर नरहेको उल्लेख गरे । प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको दाबी गरे । नेकपा एमाले संसद विघटनको चाहना राखेर अघि बढ्ने पार्टी भएको उनको जिकिर थियो ।
राष्ट्रपति जस्ता पदहरु संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरण, संविधानको सार्थक कार्यान्वयन गर्ने पदहरु रहेको उल्लेख गर्दै उनले यस्ता विषयसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताए ।