साझा कथा । २०३३ सालदेखि प्रतिबन्धित गाँजा फुकुवा गर्नका लागि सरकारले तयारी थालेको छ । गाँजा खेतीसम्बन्धमा अवधारणा तयार पारिसकेको सरकारको थालनी नयाँ भने होइन, तर अहिलेसम्म यसको प्रभावकारी कार्यान्वयन भएको छैन । सन १९६१ को मार्चमा संयुक्त राष्ट्रसंघको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१ पारित गरेको थियो । जसले गाँजालाई लागुऔषध मान्दै प्रतिबन्ध लगायो ।
नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ अर्थात वि।सं २०३३ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र विक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । पाँच पटक संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा ३,००० रुपैयाँसम्म जरिवाना तोकेको छ ।
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री शेरबहादुर तामाङका शब्दमा नेपालले विना अध्ययन अनुसन्धान संयुक्त राष्ट्रसंघको नियमलाई कपि मात्र गर्यो । सन् २०२० को अन्त्यतिर संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै हानिकारक समूहबाट हटाइसकेको छ ।
त्यसपछि नेपालमा पनि यसमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा बहस सुरु भयो । कानुनी प्रतिबन्ध हटाउन संसद्मा प्रस्ताव समेत दर्ता भयो । यस विषयको पक्षमा पूर्व सांसद शेरबहादुर तामाङ, तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतले खुलेर पैरवी गर्दै आए तर प्रतिबन्ध फुकुवाको काम अघि बढेन ।
शिवरात्रीको पूर्वसन्ध्यामा पूर्व मन्त्री तामाङले साझा कथासँगको कुराकानीमा गाँजाको विषयमा खुलेर कुरा गरे । उनले गाँजा प्रतिबन्ध लगाउँदा देशले अर्बौ नोक्सानी व्यहोरिरहेको बताउँदै गाँजालाई वैध बनाउँदा नेपालको ऋण केही बर्षमै तिरेर सकिने दाबी गरे । गाँजाको प्रतिबन्धबाट देशले केहि फाइदा नपाउने उल्लेख गर्दै उनले बरु खेती र व्यवसायमा प्रतिबन्ध लगाउँदा परनिर्भरता बढेको बताए ।
गाँजाका हजार फाइदा रहेको उल्लेख गर्दै तामाङले नशा लाग्ने वा रिल्याक्सेशनसँग सम्बन्धित एउटा वेफाइदाका कुरा उठाएर यसमाथी प्रतिबन्ध लगाउनु अनुचित रहेको बताए । युवाहरु दुव्र्यसनमा फस्न सक्ने जोखिमका कुरालाई सामान्य हिसाबले हल गर्न सकिने उनको धारणा छ । नेपाली क्यासिनोहरुमा जसरी नेपालीलाई प्रवेश निषेध गरिएको छ, त्यसैगरी नेपालीलाई गाँजा प्रयोगमा नियन्त्रण गर्न सकिने उनले बताए । एलोप्येथिक औषधीहरु पहिले जसरी अल्कोहल बेस बनाएर गरिन्थ्यो, अब गाँजामा आधारित रहेर बनाउन थालिएको छ, तामाङले भने, अन्तर्राष्ट्रिय बजारमा गाँजाको माग अत्याधिक रहेकोले नेपालले यो अवसर चुकाउन हुँदैन । नेपालको जति ऋण छ, गाँजा खेती र व्यवसायबाट तिर्न सकिन्छ ।
एचआइभी एड्स भएका व्यक्तिहरुलाई समेत गाँजाको सेवनबाट फाइदा हुने दाबी गर्दै उनले औषधीय गुण भएको गाँजा प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्नेमा जोड दिए । यति मात्रै होइन, वेदव्यासहरु, बाल्मिकीहरु समेतले गाँजाको सेवन गर्ने गर्थे । वास्तवमा गाँजाले श्रृजनशीलता पनि वृद्धि गरेको दाबी गर्छ म त, तामाङले भने । गाँजालाई नेपाली समाजले नकारात्मक बस्तुको रुपमा हेर्ने धारणा नेपालको कानूनले विकास गरेको भन्दै उनले नशाको रुपमा प्रयोग गर्न नियन्त्रण गर्ने तर खेती तथा व्यवसाय गर्न रोक नलगाउने हो भने गाँजाको विषयमा जुन धारणा छ, त्यो केहिदिनमै बदलिने बताए ।