साझा कथा । उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार उदघाटन गरेको तेस्रो मधानी महायज्ञ तथा मेला सम्पन्न भएको छ । रौतहटको मौलापुर नगरपालिका–५ स्थित पतौरास्थित प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य सहित मधानी महोत्सव आयोजना गरिएको थियो । मेलामा लाखौँको सहभागिता भएको मौलापुर नगरपालिकाले जनाएको छ ।
भोजपुरी सिनेमाका कलाकार पवन सिंह, सुपरस्टार काजल राघवानी, चर्चित नेपाली गायिका एन्जिला रेग्मी लगायतका कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको मेला अवलोकन गर्नेको भीड लागेको थियो । सो स्थान कर्णाटककालीन समयको पुरातात्त्विक स्थान हो जहाँ रहेको देव मन्दिरमा तीन वर्षयता महाशिवरात्रिको अवसरमा मधानी महायज्ञ लाग्ने गरेको छ । मेलामा सहयोग पुर्याउने व्यक्ति तथा प्रस्तुति दिने कलाकारलाई स्वतन्त्र सांसद प्रभु साहले सम्मान गरेका थिए ।
महायज्ञमा नेपाल र भारतबाट ठूलो संख्याका दर्शनार्थी भेला भएका थिए । यो मधेश प्रदेशकै प्रख्यात महायज्ञ तथा मेला हो । तीन वर्षअघि पतौरामा जमिन उत्खनन गर्दा ११ औं शताब्दीअघि निर्माण भएको दाबी गरिएको शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्त्विक विद्लाई अध्ययन गराइएको थियो । सोही बेलादेखि यहाँ मधानी महायज्ञ सुरु गरिएको हो । महायज्ञ लगाइएको महादेवको मन्दिरको चारैतिर जमिनमुनि थप पुरातात्त्विक संरचना हुन सक्ने भन्दै अध्ययन अनुसन्धान भइरहेको छ ।