साझा कथा टिप्पणी
पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्य गर्न तयार रहेको वक्तव्य दिएपछि नेपाली राजनीति तरंगित भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर ज्ञानेन्द्र शाहले एउटा कार्ड फालेका छन् । त्यो कार्डले कस्तो परिणाम दिन्छ, त्यसको लागि केहि समय कुर्नुपर्ने हुन्छ । तर पूर्व राजा ज्ञानेन्द्र शाहले स्पष्ट बताएका छन्, उनी वेचैन बसिरहेका छन् र अब चैनले दिन विताउने छैनन् । २०६५ साल जेठ २९ गते नारायणहिटि छोडेर नागार्जुन जानुअघि ज्ञानेन्द्रले भनेका थिए, ‘मैले देश छोडेर जाने सोँच बनाएको छैन । नेपालमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु ।’ गद्दि छोडेपछिको १४ बर्षसम्म मुलुकका लागि उनले के योगदान दिए र आगामी दिनमा के दिने हुन्, त्यो चाँहि अनुत्तरित छ ।
सात सय ५० रोपनी भन्दा बढी क्षेत्रफल रहेको नारायणहिटि दरबार छोड्नुपर्दा ज्ञानेन्द्र शाहले अनुहारमा पीडाको भाव त लुकाए तर शक्ति पुनः प्राप्त गर्ने उनको अभिलाषा भने कहिल्यै छिपेन । भारतमा पुगेर सन्यासी, स्वामी बाबाहरु र भाजपा निकट विभिन्न मुख्यमन्त्रीहरु भेट्नेदेखि नेपालका शक्तिपीठहरु घुमेर शक्ति आर्जनको प्रयास नगरेका होइनन् । आफ्नो बहिर्गमनपछि राप्रपा पार्टीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै त्यहि पार्टीबाट शक्ति पुनर्वहाली गर्न सकिन्छ कि भनेर प्रयास नभएको पनि होइन । विभिन्न दिवस र चाडपर्वमा वक्तव्य निकाल्दै नेपाली राजनीतिप्रति कटाक्ष गर्दै गइरहे । शक्ति पुनस्र्थापनाको मृगचाहना अप्रत्यक्ष रुपमा ओकल्ने ज्ञानेन्द्रले अहिले भने स्पष्ट भाषामा राजनीतिको नदीमा दलहरुसँगै बग्न मन छ भनेका छन् । त्यो भन्दा अघि बढेर उनले नेपालको निरन्तर अधोगतिलाई अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिएका छन् । अहिलेसम्म सर्वसाधारणको सहानुभूति बटुल्न खोजेका पूर्व राजाले अब सिधा शब्दमा आफ्नो स्पेस खोजेका छन् ।
पूर्वराजाको वक्तव्य र चाहनालाई राजतन्त्र पुनस्र्थापनासँग जोडेर हेर्न थालिएको धेरै भइसक्यो । खासगरी राजालाई प्रतिस्र्थापन गरेको राष्ट्रपति पदको गरिमा र भूमिकाले पूर्वराजातर्फ जनमत बढाएको सत्य हो । राजाले ठिक गरेनन् भन्ने मान्छेहरु राष्ट्रपति संस्था र राष्ट्रपतिमा आसिन हुने व्यक्तिप्रति पनि सन्तुष्ट हुन सकेनन् । यसले पनि राजसंस्थाप्रति मानिसहरुको मोह बढ्दै गएको सत्य हो । सायद लोकतन्त्र पुनर्वहालीपछि सरकारहरु जनताको चाहना अनुसार चलेको भए, राष्ट्रपतिले पदको गरिमा कायम रहेको भए विकल्प खोजिँदैनथ्यो ।
शासन व्यवस्था र लोकतन्त्र कमजोर भएपछि कञ्चन बग्नुपर्ने देशको पानी धमिलो भइहाल्छ । पानी धमिलो भएको देखेर के ज्ञानेन्द्र शाहले माछा मार्न खोजेका हुन् त ? एमाले अध्यक्ष केपी शर्माले त्यहि संकेत गरेका छन् । उनले जनताको हातमा शासन गएको १५ बर्षमै नआत्तिन पूर्वराजालाई आग्रह पनि गरेका छन् । २५० बर्ष खाएर पनि नपुगेको भन्दै ओलीले पूर्वराजालाई ठट्यौली जवाफ फर्काएका छन् । अहिलेको गञ्जागोलको अवस्था सिर्जना गर्न २ पटक प्रधानमन्त्री भइसकेका ओलीको पनि उत्तिकै हात छ । गञ्जागोलको अवस्थामा कसैले गोल गर्ने इच्छा राख्नु अस्वभाविक होइन । अझ पूर्वराजाले जनताबाट निर्वाचित हुने लोकतान्त्रिक बाटो रोज्न खोजेका हुन् भने उनको वक्तव्यलाई हृदयदेखि स्वागत गर्नुपर्छ । कमल थापाको शब्दमा गणतन्त्रवादी र राजावादीबीचको सिनर्जी नेपालको हितमै हुनेछ ।
तर राजनीतिमा स्पेट खोज्दै गर्दा ज्ञानेन्द्र शाहले देखाएको विरोधाभास भने संशयपूर्ण छ । दलहरुसँग सहकार्यको कुरा गर्ने र अर्कोतर्फ मौन नबस्ने चेतावनी उनले दिएका छन् । यसले सहकार्य होइन, द्वन्द्व बढाउने खतरा हुन्छ ।
राजतन्त्र र ज्ञानेन्द्र शाहका पक्षमा कुरा चलाउँदै गर्दा नागरिकहरु पनि भोलीका दिनबारे सचेत हुन जरुरी छ । राजतन्त्र पुनस्र्थापनाको अड्डी कस्दा मुलुकमा १० बर्षेयुद्ध भन्दा चर्को द्वन्द्व नहोला भन्न सकिन्न । समावेशी र समानुपातिक लोकतन्त्रका कारण राज्यसत्ताको स्वाद चाखेकाहरु, गैरहिन्दुहरु र गणतन्त्रका कट्टर समर्थकहरुले राजसंस्थाको पुनर्वहालीलाई सहजै लिने देखिन्न । भोलीको द्वन्द्वबारे पनि सेचत हुँदै मुलुकलाई समृद्धिको यात्रामा लैजान योगदान दिने रहर पूर्वराजा ज्ञानेन्द्र शाहमा पलाएको हो भने दलहरुले सहयात्राको लागि रेस्पोन्स गर्नुपर्छ । पूर्वराजा पनि लोकतान्त्रिक राजमार्गमा सवार हुनु श्रेयस्कर हुनेछ ।