साझा कथा टिप्पणी
फागुनको अन्तिम साता विद्या भण्डारीलाई प्रतिस्र्थापन गर्दै शितल निवासमा नयाँ राष्ट्रपति प्रवेश गर्दैछन् । भण्डारीलाई प्रतिस्र्थापन गर्ने नयाँ राष्ट्रपति को हो भन्ने चाँहि गर्भमै छ । राष्ट्रपति चयनको मुद्दा पेचिलो बन्दै जाँदा वर्तमान गठबन्धन भत्किएर काँग्रेस नेतृत्वको पुरानो गठबन्धन व्युँतने सम्भावना देखिएको छ । नेपालको राजनीतिमा वैदेशिक शक्तिकेन्द्रको हस्तक्षेप नयाँ विषय होइन । विशेषगरी दक्षिणी छिमेकी भारत नेपालको महत्वपूर्ण संवैधानिक पदमा हुने नियुक्ति र चयनमा ज्यादै चासो र चिन्ता दर्शाउँछ । भारतजस्तै कहिले चीन, कहिले अमेरिका त कहिले युरोपेली युनियनले नेपाली राजनीति, अर्थतन्त्र र रक्षासँग सम्बन्धित मुद्दामा दबाब र प्रभाव बढाउने गरेको पनि कसैसँग छिपेको छैन ।
केहि दिनअघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा भनेका थिए, नेपालको राष्ट्रपति चयनमा देखिने गरी विदेशीले दबाब दिइरहेका छन् । केसीको भनाई पुष्टि हुने गरी नेपाल मामलाबारे जानकारी राख्ने भारतीय थिंक ट्यांक एसडी मुनीले राष्ट्रपतिमा नामै तोकेर सिफारिस गरेका छन् । उनले डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, पूर्व सभामुख दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम विकल्पको रूपमा अघि सारेका छन् । राजनीतिक वृत्तले यी नाममा ध्यान दिनुपर्ने भन्दै मुनीले प्रत्यक्ष दबाब बढाएका छन् । कहिले सामाजिक संजाल त कहिले संचारमाध्यममार्फत नेपाल भारत सम्बन्ध र सीमासहितका विषयमा विवादास्पद अभिव्यक्ति दिने गरेका मुनी जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक हुन् । उनले बेलाबेलामा नेपाली राजनीतिक कोर्षबारे नेपाली नेताहरूलाई सुझाव दिन्छन् र कतिपय सवालमा भविष्यवाणी पनि गर्छन् । मुनीका कुरालाई भारतको संस्थापन पक्षको लाइनको रूपमा बुझ्ने गरिएको छ । मुनी तिनै व्यक्ति हुन् जसले तत्कालीन विद्रोही माओवादीलाई भारतीय नेतृत्वसँग भेटघाट गराउन तारतम्य मिलाएका थिए ।
राष्ट्रपति चयनको दिन नजिकिँदै गर्दा काठमाडौंमा भारतीय राजदुत नविन श्रीवास्तवको दौडधुप र मुनीको सिफारिसबीच तादम्यता पनि छ । उनीहरूबीच मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुझाईसँग एसडी मुनीको पनि लोली मिलेको छ । प्रचण्डले विश्वासको मत पाएलगत्तै राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । वर्तमान गठबन्धन बन्दै गर्दा असन्तुष्ट देखिएको भारतले राष्ट्रपतिमा काँग्रेसको उमेदवारको पक्षमा माहौल बनाएर पुरानै गठबन्धन व्युँताउन जोड गरिरहेको जगजाहेर छ । स्मरण रहोस्, एसडी मुनीले केपी ओली नेतृत्वको सरकार हुँदा भारतविरोधी राष्ट्रवाद नेपाल र ओलीको हितमा छैन भनेको केहि महिनापछि ओली सरकार ढलेको थियो । मुनीले राष्ट्रपतिमा नागरिक समाजका चार जना अगुवाहरूको नाम सिफारिस गर्नुको अर्थ गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउ भन्नु हो । राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति चयन हुनु ठूलो समस्या होइन, तर भारतले रूचाएका व्यक्ति नै चयन भए भने त्यो जस्तो दुःखद अरू हुँदैन ।
एमाले र माओवादीबीच पुस १० गते भएको भनिएको सहमति बमोजिम एमालेले राष्ट्रपति पाउनुपर्ने हो । तर वर्तमान सरकार बनेदेखि नै हतासमा देखिएको भारतले राष्ट्रपतिको चयनमा दबाब र प्रभाव बढाएर काँग्रेस नेतृत्वमा नयाँ गठबन्धन देख्न चाहेको छ । जसको असर वर्तमान संसद रहँदासम्म परिरहनेछ । सरकारका कामकारबाहि प्रभावित हुनेछन् जसले मुलुकको भविष्यमा दूरगामी प्रभाव पर्नेछ ।
नेपालको राष्ट्रपति को हुने भन्ने विषय यहाँको जनताको चाहनाको कुरा हो, राजनैतिक दलहरूको इच्छाको कुरा हो, संसदको अंकगणितले निर्धारण गर्ने कुरा हो । त्यसैले भारत वा कोहि विदेशी शक्तिकेन्द्रको दबाबसामु नेपाली नेतृत्व चुक्यो र उनीहरूको चाहना अनुसार नै देश अघि बढ्यो भने अहिलेको नैराश्यता झन् विस्तार हुनेछ । मुलुक भुटान बन्ने बाटोमा अग्रसर हुनेछ जहाँको अर्थतन्त्र, राजनीति र सुरक्षा सम्बन्ध भारतको निगाहमा चलिरहेको छ ।