साझा कथा । राष्ट्रपति चयनको विषयलाई लिएर वर्तमान गठबन्धन फुटको संघारमा पुगेको छ । फागुन १३ गते राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा गठबन्धनको भविष्य संकटमा पुगेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई अघि सार्दा अहिलेको समस्या सुरु भएको स्रोतको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईश्वर पोख्रेलबाहेकका नाम दिन आग्रह गरेपनि ओलीले ईश्वर बाहेक अरुको नाम दिन आनाकानी गरेका थिए ।
नेकपा एमालेका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सुवास नेम्वाङ वा अन्य कोहि नेतालाई राष्ट्रपतिको रुपमा अघि सार्न भनेका थिए तर ईश्वरबाहेकको नाममा ओली टसमस देखिएनन् । सोही कारण प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने रटान लगाएको बताइएको छ ।
ओलीले ईश्वर पोख्रेलप्रति देखाएको अस्वभाविक मोहका कारण पार्टीका महासचिव शंकर पोख्रेल र नेता सुवास नेम्वाङ समेत असन्तुष्ट रहेको चर्चा राजनैतिक वृत्तमा भइरहेको छ । गत निर्वाचनमा पोख्रेल काठमाडौं क्षेत्र नं ५ मा नेपाली काँग्रेसका उमेदवार प्रदिप पौडेलसँग पराजित भएका थिए । पार्टीको कमाण्ड सम्हाल्न शंकर पोख्रेल जबर्जस्त अगाडि बढिरहेको परिप्रेक्ष्यमा पोख्रेललाई राष्ट्रपतिको भूमिका दिँदा पार्टी समीकरण मिल्न जाने ओलीको विश्लेषण रहेको स्रोतको दाबी छ । एमालेका कार्यकर्ताहरुले अबको नेता शंकर पोखे्रल भन्न थालेपछि ईश्वर पोखे्रललाई आफ्नो राजनैतिक भविष्यको चिन्ता थपिएको हो । सोही कारण उनले आफूलाई राष्ट्रपति बनाउन ओलीलाई निरन्तर दबाब दिएको स्रोतको दाबी छ ।
एक जना नेताको व्यवस्थापन गर्नका लागि बालकोट र बालुवाटारमा भेटघाटको रिले दौड हुनु दुःखद भएको विश्लेषकहरुको भनाई छ । नेकपा एमाले र माओवादीबीच पुस १० गते राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका पार्टीलाई साक्षी राखेर शक्ति बाँडफाँडको सहमति भएको थियो । सो सहमति अनुसार एमालेले राष्ट्रपति र सभामुख, माओवादीले प्रधानमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने लगायत सहमति भयो । तर ओलीले ईश्वर पोख्रेलको मोह नछाडेपछि प्रचण्ड ईश्वरलाई स्वीकार नगर्ने बरु काँग्रेससँगको गठबन्धन व्युँताउने मुडमा पुगेको बताइएको छ ।
दलहरुबीचको यो खिचातानीले राष्ट्रपति चयनमा भारतले समेत चासो देखाउन थालेको छ ।