साझा कथा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् ।
एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।
एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ ।
विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताइन् । कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उनले बताइन् ।
शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गर्छिन् । “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन”, उनले भनिन्, “यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निरास छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।”
विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको बताए । “एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ”, उनले भने, “विद्यालयको आम्दानी छैन, अरुलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके ।”
कुनै बेला एउटै कक्षामा दुईसयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करिब एक सय मात्रै छ । तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच/सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन् ।
कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताए । उनले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरुलाई स्कूल आउन मन नै नलाग्ने गरेको सुनाए ।
विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गर्नुभएका प्रधानाध्यापक यादवले विद्यालयको यही दूरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए ।