साझा कथा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् ।
उनले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिए । आज उक्त खण्डको स्थलगत अनुगमनमा पुगेका उनले पत्रकारसँगको कुराकानीका क्रममा भने, “सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं ।”
उनले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । अनुगमनका क्रममा उनीसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूताबास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
सो क्रममा चिनियाँ राजदूत सोङले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अघि बढाउने बताए । यसअघि चीनले साइट क्लियर नगरेसम्म काम अघि नबढाउने बताउँदै आएकाले काममा ढिलाइ भइरहेको थियो । उक्त सडक विस्तारका लागि दुई देशबीच सन् २०१८ जीटूजी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ । नेपाल सरकारले चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न आग्रह गरेको छ ।