त्रिकोणात्मक सिरिज विजेतालाई सरकारले जनही २ लाख दिने

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्री दाहालले भने, छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शीर ठाडो बनाउन ऐतिहासिक भूमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छौं ।’

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि यूएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले आज यूएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ ।

यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र श्याम (मौसम) ढकाल रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?