साझा कथा । सीमा क्षेत्रका बासिन्दाहरु शौच गर्न भारत जान बाध्य छन् भन्ने व्यंग्यात्मक टिप्पणी हामीले सुन्दै र पढ्दै आइरहेका छाँै । सीमानामा कडाई नहुने र दुई देशबीचको साँध समेत स्पष्ट नहुँदा शौचालय र घर नेपाल र भारतमा पर्ने गरेको व्यंग्य हुने गरेपनि कतिपय ठाउँमा यो यथार्थ हो । नेपालका कतिपय ठाउँमा त विद्यालय नहुँदा भारतमा जानुपर्ने बाध्यतामा छन् विद्यार्थी । इलाम त्यसको उदाहरण हो ।
भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ। त्यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । इलामको जौबारी, मेघमा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन्।
भारतीय विद्यालयमा आफ्ना नानी भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएका छन् । सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभन्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको स्थानीयले बताएका छन् ।
जौबारीमा पहिला कक्षा १ देखि ५ सम्म पढाइ हुने राष्ट्रिय प्राथमिक विद्यालय थियो । ८० जनासम्म बालबालिका त्यहाँ अध्ययन गर्न आउने गर्थे । सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि उक्त विद्यालय २०७२ सालमा बन्द भयो । त्यसपछि उक्त विद्यालय पुनस्र्थापनाको कुनै पहल भएन ।
यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमान जस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ ।
अहिले जौबारीबाट मात्रै करिब १२ जना बालबालिका मानेभन्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । जौबारीको मात्रै होइन जोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५, कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिए ।
लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा आलेभन्ज्याङ, नुनथला इङ्ला गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमान जस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ ।