राष्ट्रपति चयनको रस्साकस्सी – चार दलीय बैठक निश्कर्षविहिन, साँझ फेरि बस्ने

साझा कथा । चार दलीय बैठकमा नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा काँग्रेसले आफ्नो अडान राखेको हो । काँग्रेस र अन्य दलले आफ्नो अडान नछोडेपछि शुक्रबार विहानैदेखि बसेको बैठक निश्कर्षविहिन भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको गरे । बैठकमा काँग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको थापाले जानकारी दिए । महामन्त्री थापाले प्रश्तावमा आएका नामहरुका बारेमा दलहरुले आफ्नोआफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको जानकारी दिए ।

उनले भने, ‘विभिन्न विकल्पहरुको बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । हामी टुंगोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ । साँझ ५ बजे बस्नेगरी सकिएको छ । हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ । आज टुंग्याउनै पर्छ । तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्नेकुरामा सबै स्पष्ट छौँ ।’

महामन्त्री थापाले काँग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एउटै मोर्चा बनाउने भन्दै माधव कुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?