साझा कथा । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइदेखि राष्ट्रपतिको चुनावका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । संसद बैठकमा शून्य समय र विशेष समय लिएर सांसदहरुले जनजीविका र राष्ट्रिय राजनीतिका विषय उठाएका हुन् ।
सांसद डा. तोसिमा कार्कीले राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गरिन् ।
सांसद दीपक खड्का र दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासको जलनका कारण घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरे । यस्तै, सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटका विभिन्न पुल निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकार र सदनको ध्यानाकर्षण गराए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरुबीच भईरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गरे । पूर्वअर्थमन्त्री समेत रहेका शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुखद् भएको भन्दै यसो नगर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय सहमतीकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने भन्दै उनले जनताले तानातानका लागि नभई सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गरे ।
सांसद एनपी साउदले शून्य समयमा सांसदले उठाएका समस्याको सुनुवाइ नभएको र सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै सदनको ध्यानाकर्षण गराए ।
सांसद धनराज गुरुङले मुलुकभित्र देखिएको आर्थिक सङ्कट समाधानमा केन्द्रित हुनुपर्ने र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद एनपी साउदले शून्य समयमा सांसदले उठाएका समस्याको सुनुवाइ नभएको र सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै सदनको ध्यानाकर्षण गराए ।
सांसद नारायणी शर्माले दाङमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा देखिएको समस्या समाधान गर्न तथा निर्माणको कामलाई गति दिन आग्रह गरिन् । सांसद प्रकाश ज्वालाले सुशासन, जवाफदेहितामा सरकार कमजोर रहेको भन्दै सिंहदरबार प्रवेशमा सहजता नभएको भन्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।
सांसद प्रकाशमान सिंहले करोडौँ मूल्य बराबरको पूराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापनमा जोड दिन आग्रह गरे । सांसद डा प्रकाशशरण महतले टोखा छहरे सडकखण्ड निर्माणमा देखिएको व्यवधान तथा ककनी रानीपौवा सडकखण्ड निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रतिमा गौतमले काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्न र मेलम्चीको पानी प्रभावकारीरुपमा वितरण गर्न माग गरिन् । यस्तै, सांसद प्रदिप पौडेलले पनि काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौंमा धारा मात्रै भएको तर पानी नआउने गरेको गुनासो गरे ।
सांसद प्रदीप यादवले सरकारी वेभसाइट घण्टौँ अवरुद्ध हुँदा सेवाग्राहीले समस्या व्योहोर्नुपरेको भन्दै किन यस्तो भएको हो भनेर प्रश्न गरे।